झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

२०७९ बैशाख २८ बुधबार ०९:५१:०० मा प्रकाशित

दाङ । झाडापखालाबाट दाङको तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए ।

अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी हुनुभएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिए ।

उनका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ । बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले बताए । बिरामी उपचारका लागि ढिला गरी हिजो बेलुका मात्र अस्पतालमा आएको बताइएको छ । गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि आउने क्रम बढेको बताइएको छ ।

ताजा खबर