मतपत्र हाम्रो आँखाबाट ओझेल पर्न दिनुहुँदैनः अध्यक्ष ओली

२०७९ बैशाख २७ मंगलबार १८:२९:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौं महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चि भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा एमाले काठमाडौं महानगरसहित देशभर विजयी हुने बताएका हुन् । उनले भने, ‘काठमाडौंलाई स्वच्छ, हराभरा, विकसित, आधुनिक बनाउन आवश्यक छ। खानेपानी, वातावरणको संरक्षण गर्नेछौं। काठमाडौंमा पानी ल्याउन सकेका छैनन्, हामीले ल्याएका हौं। त्यसका लागि स्थापित र डंगोललाई जिताउनुपर्छ।’

गठबन्धनले एमालेको विरोध गर्नु नै जित सुनिश्चितताको प्रमाण भएको बताए। उनले भने, ‘जित सुनिश्चित भइसकेको छ। एमालेको जित अनिवार्य पनि छ। यो व्यक्ति व्यक्तिहरुका बीचको मात्रै लडाइँ होइन। देश कता जाने, कुन बाटोमा जाने, राष्ट्रियता, स्वाधीनता जोगाउने कि नजोगाउने भन्ने लडाइँ हो।’ उनले गठबन्धनले अदालतबाट प्रधानमन्त्रीको नियुक्ति पत्र ल्याएको बताए। उनले देशमा अलक्षिण पाँच दलीय गठबन्धनबाट पसेको बताए। एमालेको पक्षमा देशभर मतको स्थिति सुदृढ रहेको र त्यसको रक्षा गर्नुपर्ने बताए।

उनले भने, ‘जसरी भए पनि कव्जा गरेर भए पनि जित्नुपर्ने अभियानमा छन्। त्यसको सामना गर्नुपर्छ। मतपत्र हाम्रो आँखाबाट ओझेल पर्न दिनुहुँदैन।’ उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन कटिबद्ध भएर सहयोग गर्ने बताए । अध्यक्ष ओलीले न्यायालयप्रति पनि आक्रोश पोखे । उनले सर्वोच्च अदालतले कांग्रेसले संसद विघटन गर्दा सदर गरेको र एमालेले गर्दा बदर गरेको बताए । अध्यक्ष ओलीले कांग्रेसले भंग गर्दा संवैधानिक भनिएको तर एमालेले भंग गर्दा अवैधानिक भनिएको बताएका हुन् ।

उनले भने,‘कांग्रेसले भंग गर्दा सदर हुन्छ, एमालेले भंग गर्दा बदर हुन्छ । कांग्रेसले भंग गर्दा संविधान बमोजिम र लोकतान्त्रिक हुन्छ, एमालेले भंग गर्दा गर्दा अवैधानिक र अलोकतान्त्रिक हुन्छ । अहिलेसम्म यस्तै हुँदै आएको छ । उनले आफूहरुले अदालत सम्मानित र जनताले विश्वास गर्न लायक होस् भन्ने चाहेको बताए । न्यायाधीशको नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष र तटस्थ होस् भन्ने आफूहरुको चाहना रहेको तर पार्टीका कार्यकर्ता एकैपटक न्यायाधीश हुने गरेको उनले बताए ।

ताजा खबर