सबैभन्दा पीर मुलुकमा अहिले कांग्रेस कार्यकर्तालाई परिरहेको छः अध्यक्ष ओली

२०७९ बैशाख २७ मंगलबार १३:५५:०० मा प्रकाशित

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान एमालेले चलाइरहेको र अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बन्न आग्रह गरेका हुन् ।

उनले नेपाललाई आधुनिक युगमा पुर्याउने जिम्मा एमालेको भएको बताए । उनले भने, ‘कोही पनि अलमलमा नपरिकन समृद्ध नेपाल र सुखी नेपालीको साझा मुद्दालाई स्थापित गराउने अभियानमा होमिनुपर्छ । युवाहरुलाई विदेश पठाउने हैन, मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’ ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास एमाले नेतृत्वको सरकारले गरेको पनि बताए ।

उनले भने,’अबको स्थानीय निर्वाचनमा एमालेलाई जिताउनुस् । एमालेका जनप्रतिनिधिले गाउँ, शहर र नगर बनाउने जिम्मा लिएका छन् । एमालेले जनतासँग मुलुक बनाउने वाचा गरेको छ । जनतासँगका प्रतिवद्धता पूरा गर्ने छौँ । जनतालाई कहिल्यै धोका दिदैनौं ।’ सबैभन्दा पीर मुलुकमा अहिले कांग्रेसका कार्यकर्तालाई परिरहेको ओलीले बताए ।

उनले भने, ’पोखरा जाउँ, भरतपुर जाउँ तर रुखमा भोट हाल्ने ठाउँ नै छैन । अर्कातिर मेरी छोरीलाई भोट हालेनौ भनेर मुलुकमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याइँदै छ । कांग्रेसजनले रुखमा भोट हाल्ने कष्ट कहिल्यै गर्नु नपर्ने भयो । आज छोरी जिताउनुपर्छ । भोलि भाइ, भतिजा र अरुको जिम्मा लिनुपर्छ ।’

अहंकार पालेका केहीले एमालेलाई चोइट्याएर केही कार्यकर्तालाई अलमल्याइरहेको उनको भनाइ छ । ‘आफूले बनाएको र वर्षौदेखि दुःख गरेको पार्टीलाई छाडेर अन्त भोट नहाल्न म कार्यकर्तालाई आग्रह गर्छु,’ ओलीले भने, ’जनतालाई हेर्ने र सेवा सुविधा पु¥याउने पार्टी एमाले नै हो भन्ने तपाई हामी सबैले बुझेकै छौं ।’

ताजा खबर