ओलीले भ्रष्टाचारमुक्त शासनको कुरा गर्न मिल्दैनः प्रवक्ता महत

२०७९ बैशाख २६ सोमबार १२:३२:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताएका हुन् ।

उनले ओलीले नचाहेपनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गरे । उनले सत्तारुढ दलमा आवद्ध अन्य दलहरुले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको बताए ।

उनले भने,  ‘केपी ओली सबै कोणबाट असफल भइसकेका छन् । अब के मुखले उहाँले भोेट माग्ने ? पाँच वर्षका लागि निर्वाचित सरकार साढे ३ वर्षमै दुई पटक हात उठायो । उहाँले बर्बाद गरेपछि सरकारले नेतृत्व काँग्रेसले लिनुपर्यो । अब उहाँले सुशासनका कुरा, कानुनी शासनको कुरा, संविधानको कुरा, विकासको कुरा, भ्रष्टाचारमुक्त शासनको कुरा गर्न मिल्छ ः कमिशनको पर्खाईमा रहँदा कोभिडको बेहालस्थिति बनाइयो । अहिले व्यवस्थापन भएको छ । कमिशनका काण्ड नियन्त्रण गरिएको छ । अव हामीले गठबन्धनलाई अगाडि बढाऔं । यद्यपि उहाँले यो रहँदैन, चल्दैन भन्नु भएको छ । हो, उहाँ त अवश्य पनि नचलोस् भन्ने चाहनुहुन्छ ।’ प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाए ।

उनले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए । प्रवक्ता महतले नेपाली काँग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले उहाँले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्न नमिल्ने पनि बताए ।

ताजा खबर