प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेको प्रचण्डको दाबी

२०७९ बैशाख २६ सोमबार १०:१८:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमै रुमल्लिन रहर र छूट नभएको बताएका छन्। सोमबार एक सन्देशमार्फत प्रचण्डले नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्न आह्वान गरेका छन् ।

उनले सिंहदरबार केन्द्रित अधिकार जनताको घर दैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रचण्डले प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेको दाबी गरे ।

उनले भनेका छन्,‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा लिएका छौं।’ हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैनन् । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा–स्वास्थ्य, रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ । ’

कृषिमा अनुदानमार्फत् उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत–पसीना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने उनको भनाई छ। इतिहासले माओवादीलाई जिम्मेवारी सुम्पिएको बताउँदै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरे।


 

ताजा खबर