बाइडन पत्नी जील बाइडन युक्रेनमा

२०७९ बैशाख २६ सोमबार १०:०४:०० मा प्रकाशित

वासिङ्टनले मस्कोमाथि थप प्रतिबन्धको घोषणा गरेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जील बाइडनले युक्रेनी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । यो उनीहरूबीच भएको पहिलो भेटघाट हो र त्यो युक्रेनको सीमावर्ती शहर उज्होरेडको एक विद्यालयमा भएको थियो ।

गत फेब्रुअरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएयता जेलेन्स्का सार्वजनिक रूपमा देखा परेको यो पहिलोपटक हो । युक्रेनमाथि रुसी आक्रमणको पछिल्लो प्रतिक्रियाका रूपमा अमेरिकाले रुस र बेलारुसका २६ सय नागरिकमाथि भिसा प्रतिबन्धसहित नयाँ रोकहरू लगाएको छ । अमेरिकाले तीनवटा रुसी टेलिभिजन स्टेसनमाथि पनि प्रतिबन्ध लगाएको छ ।

उसले रुसी वित्तिय संस्था ग्याजप्रमब्याङ्कका अधिकारीहरुमाथि पनि रोक लगाएको छ । यसैबीच औद्योगिक राष्ट्रहरूको समूह जी–सेभेनका नेताहरूले रुसी तेललाई चरणबद्ध रूपमा प्रतिबन्ध लगाउन आफूहरू प्रतिबद्ध भएको बताएका छन् । अमेरिकी र युक्रेनी राष्ट्रपतिका पत्नीबीच हाल विस्थापितहरूका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेको विद्यालयमा भेट भएको हो ।

त्यहाँ बाइडनपत्नीले आफूले संयुक्त राज्य अमेरिकाका जनता युक्रेनका जनतासँग उभिएको देखाउन चाहेको बताइन् । उनले हाल तेस्रो महिनामा चलिरहेको युद्ध क्रुर रहेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिइन् । जेलेन्स्काले युक्रेन युद्धमा रहेको बेला भ्रमण गर्नु एउटा साहसी कार्य भएको बताइन् । उनले युक्रेन र अमेरिकामा मनाइने ’मदर्स डे’ का दिन भएको भ्रमण निकै प्रतीकात्मक रहेको समेत बताएकी छन् ।

ताजा खबर