पूर्वसुरक्षा प्रमुख जोन ली चुनिए हङकङको नयाँ नेता

२०७९ बैशाख २५ आइतबार २२:०८:०० मा प्रकाशित

आफूमात्र एकल उम्मेदवार रहेको एउटा बन्द निर्वाचन प्रक्रियामार्फत पूर्व सुरक्षा प्रमुख जोन ली हङकङ नयाँ नेता चुनिएका छन् । उनको नियुक्तिलाई उक्त शहरमा आफ्नो पकड मजबुत गर्ने चिनियाँ कदमका रूपमा हेरिएको छ । बेइजिङका प्रखर समर्थक ली खासै लोकप्रिय थिएनन् र हालैको हालैको एउटा सर्वेक्षणमा एकसय अङ्कमध्ये ३४ दशमलव ८ अङ्कमात्रै उनले ल्याएका थिए ।

तर सर्वसाधारणसँग प्रत्यक्ष मताधिकार नरहेको हङकङमा त्यसको विशेष अर्थ छैन किनभने लीलाई मूलभूत रूपमा बेइजिङले चयन गरेको हो । हङकङको नेता चयन गर्ने जिम्मेवारी एउटा १५ सय सदस्यीय समितिको रहेको छ जसमा लगभग सबै बेइजिङका समर्थकहरू छन् । तर यसपालि उनीहरूले एक मात्रै उम्मेदवारलाई छान्नुपर्ने अवस्था रहेको थियो ।

उनले सन् २०१७ देखि हङकङको प्रमुख कार्यकारी रहेकी क्यारी लामलाई विस्थापित गर्नेछन् । पूर्व मूख्य सचिव रहेका ली शहरका दोस्रो वरिष्ठ उच्च अधिकारी रहेका थिए र क्यारी लामले दोस्रो कार्यकालका लागि नलड्ने बताएपछि उनी नै उनको उत्तराधिकारी बन्ने ठानिएको थियो । उनले बेला बेलामा हिंसात्मक समेत बनेका सन् २०१९ को लोकतन्त्र समर्थकहरूको प्रदर्शन नियन्त्रणको जिम्मेवारी सम्हालेका थिए ।

बेइजिङको प्रिय भएपनि सन् २०१९ मा विवादास्पद सुपुर्दगी विधेयकलाई लिएर भएका प्रदर्शन दमन गरेकोमा उनी ज्यादै अलोकप्रिय रहँदै आएका छन् । प्रदर्शनहरू चर्किए पनि उक्त विधेयकलाई उनले समर्थन गरेका थिए । प्रदर्शनकारीहरूमाथि पानीको फोहरा, रबरको गोली, अश्रु ग्यास र बेला बेला भीड तितरबितर गर्न गोली चलाउन आदेश दिएकोमा उनको आलोचना भएको थियो ।

सन् २०२० मा उनले एउटा विवादास्पद राष्ट्रिय सुरक्षा कानुन लागु गर्न समर्थन गरेका थिए जसले अधिकांश प्रकृतिका राजनीतिक प्रदर्शन र असहमतिलाई अपराधीकरण गरेको थियो र शहरको स्वायत्ततालाई घटाएको थियो । अघिल्लो वर्ष उनलाई नेतृत्व तहमा बढुवा गरिएको थियो र विश्लेषकहरूले त्यसलाई हङकङको सुरक्षामा केन्द्रित हुने चिनियाँ अभिप्रायका रूपमा लिएका थिए ।

उक्त कानुनको कार्यान्वयनमा खेलेको भूमिकाका कारण उनी र अन्य एक दर्जन अधिकारीहरूलाई संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाएको थियो । सन् २०२२ को उनको चुनावी अभियानलाई यूट्यूबले ब्लक गरिदिएको थियो।

ताजा खबर