खेलाडी विवाद छानबिन समिति गठन

२०७९ बैशाख २५ आइतबार १९:४१:०० मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटी गठन गरेको छ ।

एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडी र प्रशिक्षकबीच भएको विवादको विषयमा सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समितिको गठन गरेको हो ।

एन्फाले नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो । कमिटीमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा छन् ।

कमिटीले सात दिनभित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्नेछ । मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै यही वैशाख १३ गते १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताइरीले पटकपटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीले बताउँदै आएका छन् ।


 

ताजा खबर