अफगान महिलाहरुलाई सार्वजनिक स्थानमा बुर्का लगाउन तालिवानको निर्देशन

२०७९ बैशाख २४ शनिबार २२:२९:०० मा प्रकाशित

तालिबानले अफगानिस्तानका महिलामाथि केही कठोर प्रतिबन्ध लगाएको छ । तालिबान समूहले सत्ता कब्जा गरेपछि महिलाहरूलाई परम्परागत बुर्कासँग उपस्थित हुन कडा निर्देशन दिएको हो । गतवर्ष अगस्तमा तालिवान सत्तामा आएपछि अफगान महिलाको अधिकारमाथि तालिवान समूहले अंकुश लगाउँदै गएको छ ।

उनीहरूले १९९६ देखि २००१ को बीचमा सत्तामा आफ्नो पहिलेको भन्दा नरम शासनगर्ने प्रतिज्ञा गरे पनि बिस्तारै यसको उल्लङ्घन गर्दै गएका छन् । तालिवानको यो कदमप्रति विश्वका अधिकारवादी संघसंस्थाहरूले विरोध जनाएका छन् । सत्तामा आएपछि उनीहरूले अफगानी महिलालाई लक्षित गरी धेरै प्रतिबन्ध लगाइसकेका छन् ।

उनीहरूलाई धेरै सरकारी जागिर, माध्यमिक शिक्षा र सहरबाहिर एक्लै यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । शनिबार अफगानिस्तानका सर्वोच्च नेता तथा तालिवान प्रमुख हिबातुल्लाह अखुन्दजादाले सार्वजनिक स्थानमा हुँदा महिलाका लागि कडा ड्रेस कोड अनुमोदन गरेका हुन् ।

उक्त उर्दीले महिलाले आफ्नो अनुहार र शरीर ढाक्ने सर्वोत्तम तरिका नीलो रङको परम्परागत अफगान बुर्का लगाउनु भएको बताइएको छ । अखुन्दजादाद्वारा अनुमोदित र काबुलमा आयोजित समारोहमा तालिबान अधिकारीहरूले जारी गरेको निर्देशनमा भनिएको छ, “उनीहरूले बुर्का लगाउनु परम्परागत संस्कार र सम्मानजनक भएकोले बुर्का लगाउनु उचित हो ।”

“वयस्क अवस्थाका पुरुष नातेदारहरूलाई भेट्दा उत्तेजनाबाट बच्नका लागि शरिया निर्देशनअनुसार आँखाबाहेक ती महिलाहरूले आफ्नो अनुहार छोप्नुपर्छ,” निर्देशनमा भनिएको छ ।

ताजा खबर