नागरिकता विधेयक पास गर्ने प्रचण्डको आश्वासन

२०७९ बैशाख २४ शनिबार १३:१३:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको संसद अधिवेशनमा एमालेले अवरोध जारी रहेपनि नागरिकता विधेयक पास गर्ने बताएका छन्।

शनिबार चुनावी सभामा सम्बोधन गर्न धनुषाको ढल्केवर पुगेका अध्यक्ष प्रचण्डले मधेस र पहाडमा नागरिकताको समस्या रहेको भन्दै अब निकास खोज्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले एमालेले नाराबाजी गरि नै रहेपनि यो नागरिकताको विषय समाधान गरिने बताए ।

उनले भने, 'एमालेले अलोकतान्त्रिक तरिकाले संसद् विघटन गर्ने, अनि संसद् स्थापित भइसकेपछि चल्न नदिने गरेको छ । अब सदन चल्दा उनीहरुले माने पनि नमाने पनि, उनीहरुले नाराबाजी गरि नै रहे पनि यो नागरिकताको विषय समाधान गरिनेछ।’ उनले अदालतको आदेशकै कारण अध्यादेशबाट नागरिकताको समस्या समाधन गर्न नसकिने बताए ।

उनले एमालेले गरिरहेको संसद् अवरोधलाई ज्यादती र अत्याचार गरेको भन्दै उसले निरंकुशतावादी र तानाशाही चरित्र देखाएको बताए । नेकपा एमालेले गत भदौ २३ गतेपछिका संसद् बैठक अवरोध गर्दै आएको छ। नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो । तर दलहरुबीच सहमति नजुट्दा सदनमा छलफल हुन सकेको छैन ।

ताजा खबर