राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

२०७९ बैशाख २४ शनिबार ११:३७:०० मा प्रकाशित

काठमाडौँ । आगामी जेठ २२ गतेबाट सुरु हुने नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट शनिबार काठमाडौँमा सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र उपाध्यक्ष शिव कोइरालाले लोगो, नारा तथा मस्कट सार्वजनिक गरेका हुन् ।

यसपलिको राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा हुँदैछ। सार्वजनिक गरिएको मस्कटमा कस्तुरी मृग र लोगोमा माछापुच्छ्रे हिमाल, परेवा र चन्द्र–सूर्य अंकित गरिएको छ । राष्ट्रिय खेलकुदको नारा भने ‘एकताबद्ध देश, खेलकुदको संदेश’ राखिएको छ। लोगो तथा मस्कट भोलानाथ पौडेलले बनाएका हुन् भने नारा सुयोग्य राज काफ्लेले लेखेका हुन्।

राखेपले राष्ट्रिय खेलकुदका लागि लोगो र मस्टक डिजाइनका लागि सार्वजनिक सूचना जारी गरेको थियो। जसबाट लोगोका १३ र मस्कटका लागि ३ वटा डिजाइन पेश भएका थिए। तर पेश भएका डिजाइनबाट चित्त नबुझेपछि पौडेललाई बनाउन लगाएको राखेपको भनाइ छ।

ताजा खबर