शान्ति सम्झौता गर्न रुस आक्रमण अघिको स्थितिमा फर्कनुपर्छः जेलेन्स्की

२०७९ बैशाख २४ शनिबार ११:१२:०० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति सम्झौताका लागि रुसी सेना आक्रमणअघिको स्थितिमा फर्किनु पर्ने बताएका छन् । लन्डनको विशेषज्ञहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिएका हुन् । उनले आफूले सानो युक्रेनको नभई युक्रेनको नेतृत्व गरिरहेको बताए।

तर उनले सन् २०१४ मा रुसद्वारा नियन्त्रणमा लिइएको क्राइमियाबारे उल्लेख गरेनन् । रुसले मारिऊपोल सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सङ्घर्षरत छ । रुसी सेनाको आक्रमणको जोखिममा रहेको यस दक्षिणपूर्वी सहरको विशाल स्टिल उद्योग अजोभस्टलमा अझै पनि केही युक्रेनी नागरिक र सैनिकहरू रहेका छन् ।

मारिऊपोलमाथि कब्जा रुसको दुई महिनादेखि जारी युद्धको सबैभन्दा ठूलो उपलब्धि हुनेछ । सहरलाई नियन्त्रणमा लिन सक्नु, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि मे ९ मा पर्ने विजय दिवस मनाउनका निम्ति विशेष कारण बन्नेछ । उक्त दिन दोस्रो विश्वयुद्धमा नाजीहरूविरुद्ध सोभियत सङ्घको विजय भएको दिन हो ।

यद्यपि किएभबाट लन्डनमा रहेको विज्ञ समूहसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनमा आक्रमण गरेपछि कब्जा गरेको भूभागमाथि रुसले नियन्त्रण कायम राख्न नसक्ने बताए । फेब्रुअरी २३ सम्मको स्थितिबारे चर्चा गर्नुले युक्रेनले रुससँग शान्ति सम्झौता गर्नुअघि क्राइमिया फिर्ता लिनेबारे आग्रह नगर्ने सम्भावना जनाउँछ । उक्त प्रायद्वीपलाई आठ वर्षअघि रुसले आफूमा गाभेको थियो । जेलेन्स्कीले रुस र युक्रेन बीचको कूटनीतिक वार्ता फेरि सुरु गर्न आह्वान गरे । रुसले भने शान्ति सम्झौताको प्रक्रिया स्थिरताको अवस्थामा रहेको बताएको छ।

ताजा खबर