शेयर बजारको परिपक्वता खोजिँदै

२०७९ बैशाख २३ शुक्रबार २२:११:०० मा प्रकाशित

काठमाडौं । झण्डै ४४ खर्ब बराबर पुगेको बजारको पूँजीकरण पुगेको धितोपत्र बजार पछिल्ला दिनमा क्रमशः ओरालो लागेको छ । कारोबार मापक नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लिएको छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घले शुक्रबार शेयर बजारका सन्दर्भमा एक छलफल चलायो । छलफलमा नियमक निकायदेखि सरोकारवालाको सहभागिता थियो । नेप्से लगातार ओरालो लाग्दा त्यसले लगानीकर्तालाई पनि निराश बनाएको छ ।

निराशालाई चिर्दै अगाडि बढ्ने लक्ष्यका साथ आयोजित छलफलका वक्ताले बजारलाई परिपक्व बनाउने विषयमा मतैक्यता प्रदर्शन गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शेयर बजारलाई परिपक्व बनाउने विषयलाई नै केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले बजारको परिपक्कतालाई सबै सम्बद्ध पक्षले गहनरूपमा बुझन् जरुरी रहेको उल्लेख गरे । उनले बुक विल्डिङ विधिलाई पारदर्शी र प्रभावकारीरूपमा अभ्यासमा ल्याउनुपर्ने बताए ।

बजारको सन्तुलन कायम राख्नका लागि संस्थागत लगानीको सहभागिता बढाउनुपर्ने स्पष्ट पार्दै अध्यक्ष हमालले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण शेयरमा कोटा छुट्याइने विषय आगामी दुई महिनाभित्रमा कार्यान्वयनमा आउने जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले परिपक्वता सबै क्षेत्रमा अति नै आवश्यक हुनेमा जोड दिए । उनले ४४ खर्ब बराबर पुगेको बजार पूँजीकरण ३१ खर्बको हाराहारीमा ओर्लेको भन्दै त्यसको कारण खोज्नपर्ने बताए । धितोपत्र बजारमा बैंक वित्तीय संस्थाको बाहुल्यता रहेको तथा केन्द्रीय बैंकले ल्याउने सानोभन्दा सानो नीतिगत व्यवस्थाले पनि प्रभावित बनाउने भएकाले यसमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ५० लाख लगानीकर्ताको चासो र चिन्ताको विषयमा छलफल गराएको जानकारी दिए । कोरोना महामारीपछि अर्थतन्त्रमा हरेक पक्षमा कर्जाको माग बढेको भए पनि अर्थतन्त्रको संरचनाले त्यसलाई सम्बोधन गर्न नसकेको उनले बताए ।

पछिल्लो समयमा ब्याजदरको वृद्धिले सेयर बजारमा नकारात्मक असर पारेको उनको भनाइ छ । बजारको परिपक्वता र स्थीरताका लागि विदेशी कम्पनीले नेप्सेको सेयर खरिद गर्ने, इन्ट्रा डे टे«डिङ, सर्ट सेल, संस्थापक सेयरलाई साधारण सेयर सरहको कारोबार आवश्यक रहेको उनको भनाइ थियो ।

ताजा खबर