छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाकै अपमान होः प्रचण्ड

२०७९ बैशाख २३ शुक्रबार १७:५८:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई कार्यकारी भूमिकामा ल्याउनु परिवर्तनलाई विजयी गराउनु रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशका दुई ठूला महानगरपालिकाको नेतृत्वका लागि महिला उम्मेदवारलाई अघि सारिएप्रति आफू खुशी भएको बताए । संविधान निर्माणको समयमा महिलाको क्षमतालाई राष्ट्रको पक्षमा कसरी सदुपयोग गर्ने भन्ने विषयमा ठूलो बहस भएपनि कार्यान्वयनको क्रममा चुकेको भन्दै उनले अहिले त्यो प्रक्रिया क्रमशः अघि बढेको उनले बताए। उनले महिला उम्मेदवारलाई जिताउनु परिवर्तन र सकारात्मक र प्रगतीशील पक्षलाई जिताउनु ठहर हुने बताए।

लामो समय पुरुषहरु नेतृत्वमा रहेपनि काम गर्न नसकेको उनले बताए । ‘पुरुषहरुले धेरै राज गर्यौँ तर धेरै लछारपाटो लगाउन सकिएन । एकचोटी महिलाहरुलाई कार्यकारी भूमिका दिएर हेरौं । संविधान कार्यान्वयनको दृष्टिकोण र परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणबाट नेपाली जनताले प्रगतीको अनुभुत गर्ने वातावरण बनाउन महिलालाई विशेष प्राथमिकता दिनपर्ने आवश्यक छ,’ प्रचण्डले भने।

दुई महानगरपालिकामा महिला उम्मेदवारका विषयमा नकारात्मक टिप्पणी भएप्रति पनि प्रचण्डले आक्रोश व्यक्त गरे। ‘कसैलाई छोरीका रुपमा कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरुलाई कहिँ न कतै अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसहरुको कोशिस छ। म त्यो प्रवृत्तीलाई हृदयदेखि विरोध गर्छु,’ उनले भने।

प्रचण्डले महिलाहरु कार्यकारी भूमिकामा रहेका ठाउँमा राम्रा राम्रा काम भएको पनि बताए। ‘त्यसैले महिलाहरुलाई विश्वास गर्ने, उनीहरुको योग्यतालाई सम्मान गर्ने आजको आवश्यकता हो,’ उनले भने ।

ताजा खबर