ओलीको पक्षमा मत खसालियो भने जिन्दगीभर पछुताउनु पर्छः अध्यक्ष नेपाल

२०७९ बैशाख २३ शुक्रबार १७:४८:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई आगामी स्थानीय तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा दिँदै त्यसैको पक्षमा मतदान गरे मुलुक र जनताले पछुताउनुपर्ने बताए । उनले मुलुकको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्त भएका उपलब्धि जोगाउनका लागि सत्तारुढ पाँचदलीय गठबन्धनको अर्को विकल्प नभएको बताए ।

प्रतिगामी कित्तामा उभिएका केपी ओलीको पक्षमा मत खसालियो भने पछुताउनु पर्ने र भावी सन्तानहरुले पनि दुःख भोग्नुपर्ने उनको भनाई थियो । ओली नेतृत्वको गठबन्धनले संविधान विरोधी काम गरेको, दुई तिहाइ बहुमतको सरकारलाई आफैंले धुजाधुजा पार्ने काम गरेको तथा जनमतको अनादर गर्ने काम गरेको अध्यक्ष नेपालले आरोप लगाए ।

उनले भने, ‘कतिपयको दिमागमा लागेका हुन सक्दछ कि हामी एक्लै पार लगाउन सक्दछौं । यो भ्रमबाट सबैले मुक्त हुन जरुरी छ । अहिले पनि एकतावद्ध भएर जाने कुराको विकल्प छैन । अहिले देशमा दुईटा गठबन्धन छ । अब रोज्नुपर्ने छ –कुन गठबन्धनको पक्षमा लाग्ने ? एउटा प्रगतिशील गठबन्धन छ । बाम लोकतान्त्रिक गठबन्धन छ । र, अर्को भनेको प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ । दक्षिणपन्थी गठबन्धनहरुको नेतृत्व नेकपा एमालेले, केपी ओलीले गरिरहेका छन् । जहाँ राप्रपाजस्ता दक्षिणपन्थी शक्तिहरु, राजावादी शक्तिहरु, प्रतिगामी शक्तिहरु, त्यो गठबन्धनमा सामेल छन् । विदेशीहरुमा सामू लम्पसार पर्नेहरु त्यो गठबन्धनमा सामेल छन् । त्यसैले म सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई भन्नु चाहन्छु–७७ वटा जिल्लाका मतदाताहरुलाई भन्न चाहन्छु—तपाईहरुले आफ्नो आफनो ठाउँमा प्रगतिशील गठबन्धनमा सामेल भएका दलहरुको पक्षमा मतदान गर्नुहोस् । प्रतिगामी कित्तामा उभिएकाहरुको पक्षमा मत खसाल्न पर्यो भने पछि तपाईले पनि पछुताउनु पर्नेछ । तपाईका सन्तानहरुले पनि दुःख भोग्नुपर्नेछ । यदि हामीले भविष्यलाई सुनिश्चित गर्न चाहन्छौं भने, परिवर्तनको यात्रामा जान चाहन्छौं भने अहिलेसम्म प्राप्तभएका उपलब्धि जोगाउनका लागि यो हामीले काम गरेको पाँचदलीय गठबन्धनको अर्को विकल्प छैन ।’
 

ताजा खबर