सुशासनलाई केन्द्रमा राखेर काम गर्न गठबन्धनका उम्मेदवारलाई पौडेलको निर्देशन

२०७९ बैशाख २३ शुक्रबार १७:१४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगरपालिकालाई विकास गर्नका लागि सुशासन नै सबैभन्दा उत्तम उपाय हुने बताएका छन् । पाँच दलीय गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी समालाई सम्बोधन गर्दै नेता पौडेलले महानगरको मेयरका लागि गठबन्धनका उम्मेदवारहरुलाइ सुशासनलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

‘उहाँहरुले धेरै कुराहरुको प्रतिवद्धता व्यक्त गर्नुभएको छ, त्यो मध्य एउटै मात्र काम गर्नुभयो भनेपनि धेरै हुन्छ,’ पौडेलले भने, ‘सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्यका लागि काम गर्नुस्।’ नेता पौडेलले अर्बौँको बजेट हुने काठमाडौं महानगरमा भ्रष्टाचार र लुटतन्त्र मच्चिएको कारणले नै अपेक्षित काम हुन नसकेको बताए ।

तीस वर्षसम्म पनि काठमाडौंमा फोहोरको व्यवस्थापन हुन नसकेको उनले बताए । आफू मन्त्री हुँदा गोकर्णेश्वर डम्पिङ साइटमा फोहोर व्यवस्थापनको प्रवन्ध मिलाइएको र गोकर्णेश्वर भरिएपछि बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएपनि वैकल्पिक स्थानको खोजी गर्न महानगरको नेतृत्वले चासो नदेखाउँदा तीस वर्षदेखि फोहोर व्यवस्थापन हुन नसकेको उनले बताए । पौडेलले महानगरको नेतृत्वले करदातालाई सम्मान गर्नुपर्ने बताए। कर तिर्ने जनताले कुनैपनि सुविधा नपाएको बताउँदै पौडेलले अबको नेतृत्वले करको सदुपयोग र करदाताको सम्मान गर्नुपर्ने बताए।

ताजा खबर