गठबन्धन टुट्यो भने कांग्रेसपनि खत्तम हुन्छ, रेनुलाई जिताउनु हाम्रो कर्तव्य होः प्रधानमन्त्री

२०७९ बैशाख २२ बिहीबार १६:४७:०० मा प्रकाशित

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् । बिहीबार गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताएका हुन् ।

भरतपुर महानगरको मेयरका रूपमा रेनुले गरेका कामहरू प्रशंसनीय रहेको भन्दै देउवाले रेनुले हारे चितवनका जनता रिसाउने बताए । उनले भने, ‘गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने कांग्रेसपनि खत्तम हुन्छ । रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ?’

भरतपुरको विकासका लागि रेनुले अघि सारेका योजना हेर्दा जनतामा लोकिप्रय देखिएको उनले बताए । अहिले माओवादी केन्द्रको मेयरका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्दै उनले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने बताए । उनले भने, ‘उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौंला । उहाँलाई यो पटक सहयोग गरेर हेर्नुपर्यो ।’

ताजा खबर