सर्वोच्चद्वारा प्रहरी महानिरीक्षक नियुक्ति विवादमा अन्तरिम आदेश दिन अस्वीकार

२०७९ बैशाख २२ बिहीबार १६:१७:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्ति विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

बुधबारदेखि न्यायाधीश माथेमाको इजलासमा दुई पक्षीय बहस भएको थियो। सरकारले पहिलो वरीयतामा रहेका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाइ तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो ।

एआईजी पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्ठलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए। पहिलो दिन धेरै कानुन व्यवसायी भएपछि बहस बाँकी रहेकाले हेर्दा हेर्दैमा राखिएको थियो।

बिहीबार निवेदक पोखरेलका पक्षबाट जवाफी बहस भएको थियो। जवाफी बहसका क्रममा पोखरेल आफैंले पनि आफ्नो कुरा राखेका थिए। सबै पक्षको बहसपछि सर्वोच्चले यस्तो आदेश सुनाएको हो।

सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ ।अदालतको आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।


 

ताजा खबर