सत्ता गठबन्धन नातागोता व्यवस्थापनका लागि मात्रैः ओली

२०७९ बैशाख २२ बिहीबार १४:०९:०० मा प्रकाशित

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन देश बनाउन नभइ मिलेर खानका लागि मात्रै बनेको बताएका छन् । बिहीबार कैलालीको बर्दगोरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलको गठबन्धन स्वार्थका लागि बनेको बताएका हुन् । उनले स्वार्थका लागि बनेको गठबन्धनलाई निर्वाचनमार्फत विदाइ गर्नुपर्ने बताए ।

उनले भने, ‘गठबन्धनको नाम भनेको कुनै गन्तव्य नभएको, उद्देश्य नभएको, बाटो नै नभएको सरकारमा पुग्ने र पुगेपछि आफ्ना मानिसलाई उद्दार गर्ने, व्यवस्थापन गर्ने नातागोताको व्यवस्थापन गर्नका लागि मात्रै हो । यसलाई निर्वाचनबाट विदा गर्नुपर्छ।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन सामान्य निर्वाचन मात्रै नभइ धेरै कुरालाई टुंगो लगाउने र दिशानिर्देश गर्ने निर्वाचन भएको बताए । देशको अहिलेको आवश्यकता स्थिरता र स्थायित्व भएको भन्दै अध्यक्ष ओलीले यस्तो अवस्थामा मुलुक बनाउने पार्टी एमालेले जित्नुपर्छ की अस्थिरता ल्याउनेले जित्ने भन्ने फैसला जनताले गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले कैलालीमा भएका हिंसात्मक घटनाप्रति आफू दुःखी भएको बताए । उनले जो मारिए पनि नेपाली मारिएको भन्दै त्यो राम्रो नभएको बताए । उनले एमालेले द्वन्द्व र सामाजिक सद्भाव बिगार्ने काम कहिल्यै नगर्ने बताए ।

ताजा खबर