मलाई पछि हट्नु भन्दा पनि कांग्रेसले रेनुलाई सघाउने निर्णय फिर्ता लिनु उचित हुन्छः पौडेल

२०७९ बैशाख २२ बिहीबार १०:१५:०० मा प्रकाशित

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले कुनै हालतमा पछि नहट्ने बताएका छन् । बिहीबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा पौडेलले आफू चुनावी अभियानमा होमिइसकेकाले पछि हट्नै नसक्ने अवस्था रहेको बताएका हुन् ।

भरतपुरमा बिहीबार सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र पौडेलबीच वार्ता भएको हो । भेटमा पौडेलसँगै, मीना खरेल र कृष्णलाल सापकोटा पनि पुगेका थिए । पौडेललाई मेयरको उम्मेदवारमा खरेल समर्थक र सापकोटा प्रस्तावक छन् । पौडेलले यहाँ कांग्रेसले मेयर पाउनुपर्छ भन्ने आफ्नो माग रहेको र आफू पछि हट्नुपर्छ भने रेनु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले देशभर गठबन्धन बनेको अवस्थामा यहाँबाट पछि हटिदिन पौडेललाई आग्रह गरेका थिए । पौडेलले आफूले भनेर अब केही नहुने बताएका थिए ।

पौडेलले भने,‘मेरो अघिपछि हजारौँ कार्यकर्ता छन्। मलाई पछि हट्नु भन्दा पनि कांग्रेसले रेनुलाई सघाउने निर्णय फिर्ता लिनु उचित हुन्छ । अब मलाई फिर्ता गर नभन्नु होला।’ सत्ता गठबन्धनले मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

ताजा खबर