मारिऊपोलस्थित एजोभस्टाल स्टिल उद्योगमा रुसको पूर्णस्तरको हमला

२०७९ बैशाख २२ बिहीबार ०८:३८:०० मा प्रकाशित

रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा एउटा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि कठिन रक्तपातपूर्ण लडाइँ गरिरहेको बताएका छन् ।

निरन्तरको हमलापछि रुसी फौज उद्योग क्षेत्र प्रवेश गरेको विवरण आएका छन् । बालबालिकासहित करिब २०० सर्वसाधारण उक्त उद्योगभित्र आश्रय लिएर बसिरहेको ठानिएको छ । कमान्डर डेनिस प्रोकोपेन्कोले टेलिग्राममा एउटा संक्षिप्त भिडियो राख्दै शत्रुको दबाब नियन्त्रणमा राख्न आफ्ना सेनाले मानवले गर्न सक्ने भन्दा ठूलो प्रयास गरिरहेको बताएका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसङ्घलाई थप अपील गरेका छन् । युक्रेनी नेताले यसै साता मानिसहरूको उद्धार गरी सफलतापूर्वक अन्यत्र लगेकोमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रसलाई धन्यवाद दिए । यो साताको सुरुमा एकसय भन्दा बढी मानिसको उद्धार गरिएको थियो ।

अन्यत्र क्षेत्रबाट थप उद्धार पनि भएका थिए । युक्रेनका उपप्रधानमन्त्रीले मारिऊपोलसहित दक्षिणपश्चिम सहरका ३४४ जनालाई उद्धार गरी बुधबारसुरक्षित मानिएको जापोरिझिया सहर लगिएको बताएकी छन् । उक्त सहर अझैसम्म युक्रेनी नियन्त्रणमै रहेको छ।

ताजा खबर