युक्रेन संकट समाधानका लागि कूटनीतिक पहल गर्न मोदीको आग्रह

२०७९ बैशाख २१ बुधबार १२:४३:०० मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन् । उनले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताएका हुन् ।

हाल युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि यस्तो बताएका हुन् । डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि मंगलबार आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ‘युक्रेनको संकट समाधान गर्न वार्ताका साथै कूटनीतिक प्रयासहरुलाई गति दिनुपर्छ, यही माध्यमबाट नै समस्या समाधान हुनेछ ।’

भारत युक्रेनमा शान्ति चाहेको भन्दै हाल जारी रहेका आक्रमणहरुलाई रोकेर अविलम्ब कूटनीतिक वार्ता थाल्नुपर्ने भारतको धारणा रहेको पनि उनले बतनाए । प्रधानमन्त्री मोदीले भारतको प्रधानमन्त्रीका रुपमा पहिलो पटक डेनमार्कको भ्रमण गरेका हुन् ।

ताजा खबर