बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

२०७९ बैशाख २० मंगलबार २१:४०:०० मा प्रकाशित

बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका छन् ।

रुसले आक्रमण गरेपछि सहयोगको अपील गरिरहेको यूक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो । यूक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै आक्रमणको विरोध गर्दै यूक्रेनको पक्ष लिएको थियो । बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग भएको बताइएको छ ।

यो सहयोगले रुससँग यूक्रेनलाई प्रतिवाद गर्न सजिलो हुने यूक्रेनका अधिकारीहरूले बताएका छन् । झण्डै एक घण्टाको प्रधानमन्त्री जोनसनको सम्बोधन अत्यन्तै महत्वपूर्ण रहेको पनि अधिकारीहरूको भनाइ छ । यूक्रेनको भेर्खोभना राडामा रुसले आक्रमण गरेपछिको यो पहिलो विदेशी नेताको सम्बोधन हो ।

'ब्रिटिश जनताले यस्तो एकता र संकल्प देखाए कि हामीले हाम्रो सबैभन्दा ठूलो खतराको समयलाई हाम्रो उत्कृष्ट समयको रूपमा सम्झन्छौं । यो यूक्रेनको उत्कृष्ट घडी हो, तपाईंको राष्ट्रिय कथाको एक महाकाव्यात्मक अध्याय हो जुन आउने पुस्ताले सम्झिनेछ र सम्झाइनेछ,' जोनसनले भनेका छन् ।

नयाँ सैन्य समर्थन अन्तर्गत इलेक्ट्रोनिक युद्ध उपकरण, एक काउन्टर ब्याट्री रडार प्रणाली, जिपिएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन् ।

गत हप्ता यसले यूक्रेनलाई आक्रमण गर्ने रुसी विमानहरू विरुद्ध क्षेप्यास्त्र प्रहार गर्न सक्षम सशस्त्र वाहनहरू पठाउने योजनाको घोषणा गरेको हो । अघिल्लो सहायतामा ट्याङ्क विरोधी मिसाइलहरू, वायु रक्षा प्रणाली र टन प्लास्टिक विस्फोटकहरू समावेश छन् ।

ताजा खबर