ललितपुरमा सम्पदा संरक्षण उम्मेदवारको उच्च प्राथमिकतामा

२०७९ बैशाख २० मंगलबार १३:४३:०० मा प्रकाशित

ललितपुर । ललितपुरको छ स्थानीय तहमध्ये ठूलो र सबैको ध्यानकेन्द्रित ललितपुर महानगरपालिकाका प्रमुखका दुई प्रत्यासीको यतिखेर निकै चर्चा चलेको छ । उक्त महानगर क्षेत्रभित्र मात्र नभई आसपासकोसमेत ध्यान तानेको पाइन्छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धीका रुपमा उभिएका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार पाँच वर्षपछि पनि आमनेसामने भएका छन् । कांग्रेसबाट उम्मेदवार भएर विजयी भएसँगै पाँच वर्ष महानगरपालिका प्रमुख भैसकेका चिरिबाबु महर्जन र तत्कालीन निर्वाचनमा उनीसँगै प्रतिस्पर्धामा उत्रिएका एमालेका हरिकृष्ण ब्यञ्जनकार आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि उहीँ पदमा प्रतिस्र्धामा उभिनुले पनि यहाँका मतदाताको ध्यान केन्द्रित गरेको हो ।

निर्वाचन नजिकिएर घरदैलो अभियान नै सुरु भइसकेपछि दुवै पार्टीले आफ्नो धारणासहित आगामी पाँच वर्ष जनताको लागि गर्ने काम गर्ने जनाउँदै संकल्प प्रस्ताव सार्वजनिक गरेको छ । महानगर प्रमुखका प्रत्यासी महर्जन र ब्यञ्जनकार दुवैको संकल्पमा महानगरका सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेका छन् ।

कांग्रेसको तर्फबाट प्रमुखका उम्मेदवार महर्जनले सार्वजनिक गरेको संकल्प प्रस्तावमा महानगरलाई सांस्कृतिक सहरको परिचय व्यापक बनाउँदै महानगरभित्रका मूर्त तथा एक अमूर्त कला, संस्कृतिको संरक्षणलाई जोड दिएका छन् । उनले ललितपुर महानगरका दुई सम्पदालाई विश्व सम्पदामा सूचीकृत गर्न आफू लाग्ने उल्लेख गरेका छन् ।

उनले विसं १९९० को भूकम्पमा भत्किएर अहिलेसम्म पनि पुनःनिर्माण हुन नसकेका सम्पदाको पुनःनिर्माण गर्ने, इटीटोलको कामारूकामाक्षबाट रातो मछिन्द्रनाथ (श्री करूणामय पद्मपाणी) ललितपुर ल्याउने काठमाडौँका राजा नरेन्द्रदेव, भक्तपुरका तान्त्रिक देव बन्धु आचार्य र मछिन्द्रनाथ बोकेर ल्याउने ललित ज्यापूको शालिक स्थापनालगायत सम्पदा संरक्षणमा संकल्प प्रस्तुत गरेका हुन् ।

यस्तै आफ्नो पाँच वर्षको अनुभवलाई चुस्त बनाउँदै अधूरा काम पूरा गर्ने संकल्प प्रस्तुत गर्दै महर्जनले स्वास्थ्य बीमाको व्यवस्था, उज्यालो सडक, बलियो कालोपत्रे सडक, सुशासन र जवाफदेहिता, भर्टिकल पार्किङ, प्रविधिसहितको संस्कारयुक्त शिक्षा, हस्तकलाको विकासलाई प्राथमिकतामा राखेका छन् ।

महानगरका सहरलाई उज्यालो बनाउने अभियानअन्तर्गत सबै वडाका सडक तथा चक्रपथमा स्मार्ट सडक बत्तीमार्फत सडकलाई उज्यालो र सुरक्षित बनाउने, पैदलमार्ग व्यबस्थापन गर्ने, कालोपत्रे सडककोसमेत स्तरोन्नति गर्ने, सबै भित्री सडकलाई यसै अनुरुप कालोपत्र गर्ने संकल्प गरेका छन् ।

उनले स्थानीय तहको अधिकार क्षेत्रभित्र नरहेको आठ मिटरभन्दा ठूला सडकलाई आफ्नो अधिकार क्षेत्रभित्र ल्याएर विकासको प्रयास गर्ने, खानेपानी, निःशुल्क शिक्षा, घरघरमा स्वास्थ्य बीमा तथा जनताको दैनिक जीवनलाई सहज बनाउने गरी महानगरले नागरिकमैत्री सुशासनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

एमालेका तर्फका प्रमुखको प्रत्यासी व्यञ्जनकारले पनि आफ्नो ५९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले यहाँको सम्पदा संरक्षण, पुनःनिर्माण, जिर्णोद्धार र मूर्त–अमूर्त कला, संस्कृतिको संरक्षण गर्दै धार्मिक पर्यटकको विकास गर्ने तथा महानगरको विकासलाई पाँच आधार स्तम्भ बनाएर विकास गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनले बच्चादेखि बृद्धसम्मको जीवन उपयोगका विभिन्न कार्यक्रम तय गर्दै महानगरीय अस्पताल सुरुवात, निःशुल्क फोहर सङ्कलन, फोहर तथा ढल प्रशोधन, युवा तथा महिलाका लागि रोजगारीमूलक उद्यमशिलता, छिटो नक्सा पास तथा डिजिटल नक्सा प्रणाली, सम्पूर्ण पूर्वाधारसहितको सुविधा सम्पन्न सामुदायिक विद्यालय, प्राविधिक शिक्षा, प्रत्येक वडामा फ्रि–वाईफाई, सहुलियत मूल्यमा विद्युतीय चुल्हो, विद्युतीय सवारी प्रवद्र्धन, शिशु स्याहार केन्द्रदेखि द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

त्यस्तै सार्वजनिक एवं सरकारी सम्पतिको अभिलेख सङ्कलन, संरक्षण र व्यवस्थापन गरिने, पालिकाभित्र अस्थायी बसोबास गर्ने स्वदेशी तथा विदेशी नागरिकको अनिवार्य रजिष्टे«शन, सेवाको विकेन्द्रीकरण नीतिदेखि सहरी गरिबका लागि विद्युत् एवं खानेपानीमा पहुँच प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

पुँजी निर्माण र परिचालन, वित्तीय साक्षरता कार्यक्रम र युवा उद्यमशीलतासँग सहकारी, प्रत्येक घरमा घर नम्वरिङ गरी सेवा प्रवाह तथा सूचना प्रणालीको व्यवस्थापन तथा उनले सीपमूलक तालिम लिएर सोही पेशा व्यवसाय गर्नेलाई पालिकाको सम्पूर्ण कर पाँच वर्षसम्म छुटलगायत संकल्प सार्वजनिक गरेका छन् ।

ताजा खबर