मारिऊपोलको स्टिल उद्योगमा रुसद्वारा फेरि आक्रमण

२०७९ बैशाख २० मंगलबार ०८:२१:०० मा प्रकाशित

रुसले मारिऊपोलस्थित स्टिल उद्योग फेरि हमला सुरु गरेको छ । युक्रेनका एक अधिकारीले मारिऊपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारणलाई अन्यत्र लैजान बाँकी रहे पनि त्यहाँ रुसले पुनः हमलाहरू थालेको बताएका छन् ।

नेशनल गार्डका कमाण्डर डेनिस श्लेगाले एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका हुन् । आइतबार उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका थिए । तर कमाण्डरका अनुसार स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरू रहेका छन् ।

युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किए लगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको बताएका हुन् । दक्षिणी बन्दरगाह सहरमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो । सोमबार साँझ बाहिरिएका भिडियोमा एजोभस्टालमा ठूलो आगो लागेको देखिन्छ जसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन्।

ताजा खबर