लोडर दुर्घटनामा मकवानपुरमा दुई चिनियाँ नागरिकको मृत्यु

२०७९ बैशाख १९ सोमबार २०:४६:०० मा प्रकाशित

हेटौंडा । मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चार घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक दुवै चिनियाँ नागरिक रहेका प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौँ जोड्ने द्रुतमार्गअन्र्तगत मकवानपुरको बकैया गाउँपालिकाको–११ घटेपाख र लेनडाँढा नजिक लोडर दुर्घटना हुँदा दुईको घटनास्थलमा मृत्यु भएको बताइएको छ ।

मृतक दुई सो द्रुत मार्गमा काम गर्ने चिनियाँ नागरिक रहेको प्रवक्ता कार्कीले बताए । घाइतेको उद्धार गरी हेटौँडा ल्याएको र उपचार भइरहेको बताइएको छ । मृतक र घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ताजा खबर