नेपाल उद्योग परिसङ्घको महानिर्देशकमा दीपकराज जोशी नियुक्त

२०७९ बैशाख १९ सोमबार २०:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे । नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहेका छन्। उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा समेत काम गरिसकेका छन् ।

अन्तर्राष्ट्रियरूपमा ‘च्यान्पिएन्स इन च्यालेन्ज’ र ‘पर्यटन हिरो’ जस्ता सम्मानबाट सम्मानित भइसकेका जोशीबाट परिसंघका उद्देश्यअनुरूपका कार्य सम्पादन हुने विश्वास परिसंघको छ । वाणिज्यशास्त्रमा स्नातोत्ततर उनी पर्यटन तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि संलग्न छन् ।

ताजा खबर