‘मेरो एउटा कार्टूनले भारतमा हलचल मच्चायो’ 

२०७४ पौष १८ मंगलबार १५:१०:०० मा प्रकाशित

सानै उमेरदेखि स्कूलमा चित्र कोर्ने बानी परेका सुपरिचित कार्टुनिष्ट राजेश केसीलाई ‘फलानो’ मान्छे भनेर चिनाईरहनु पर्दैन। उनको लोकप्रिय कार्टून स्तम्भ ‘फलाना’ेमा नियमितजसो एकसेएक व्यंग चित्र पढिरहेका पाठकलाई उनको परिचयका लागि थप विशेषण आवश्यक नै पर्दैन। त्यसो त राजेश चित्रकलाको सीपमा अभ्यस्त हुँदै जाँदा क्यारिकेचरतिर पनि नतानिएका होईनन्। कान्तिपुर  पब्लिकेसन्सका छापामाध्यमबाट व्यावसायिक कार्टुनिष्टको करिअर शुरु गरेपछि उनी क्यारिकेचरतिरको मोहमा अल्झिएनन्। राजेशको पहिलो कार्टून आजभन्दा २७ वर्ष अघि राइजिङ नेपालमा चार कोलमको स्पेशमा छापिएको थियो। राजनीतिक र सामाजिक क्षेत्रका विकृति, विसंगतिलाई सरल र सिर्जनात्मक कार्टूनबाट व्यंग्य गर्न खप्पिस राजेशले नेपाल र बाहिर गरेर धेरै संचार माध्यममा काम गरिसकेका  छन् । कार्टूनबाट पनि राम्रो आम्दानी हुने केसीको ठम्याई छ। पत्रकारितासँगै अतिरिक्त व्यवसायमा पनि लागेका राजेशको पुल्चोकमा ‘फलानो लुगा घर’ र ‘कफि घर’ संचालनमा छन्। नेपालमा कार्टूनको अवस्था र पत्रकारितामा कार्टूनको भूमिकाको बिषयमा केसीसँग सरल पत्रिकाले गरेको यो कुराकानी :

कार्टून विधासँग कसरी जोडिनुभयो ?

म स्कूल पढ्दादेखि नै चित्रहरु बनाउने गर्थें। त्यतिबेला कार्टून केहो भन्ने थाहा थिएन। त्यतिखेर एनिमेसन सिनेमाहरु त्यस्तो केही हुँदैन्थ्यो। कलेज आइसकेपछि बाहिरतिरका पत्रिकाहरु र यहाँका पत्रिकाहरुमा हेरेपछि कार्टून के हो भन्ने कुरा थाहा भयो।

कार्टून पढेको कि सिकेर जानेको?

कार्टून पढेको होइन। चित्रकला त धेरै बच्चाहरु बनाउँछन् तर मेरो अलि पृथक हुन्थ्यो। अहिले सानो हुँदाको कुरा संम्झिदा म एक दुई कक्षामा पढ्दा आफूले बनाएका चित्रकलाहरुलाई मेरा शिक्षकहरुले भित्ताहरुमा टाँस्नु हुन्थ्यो। अहिले त्यो संम्झिदा  सायद अरुहरुको भन्दा केही फरक भएर नै त्यसरी टाँसेको होला भन्ने लाग्छ।

तपाईंको पहिलो कार्टून कुन थियो?

आजभन्दा २७ वर्षअघि राइजिङ नेपालमा पहिलोपटक चार कोलमको कार्टून छापिएको थियो। त्यसपछि कान्तिपुर र काठमाडौं पोस्टको डमि अंकदेखि नै मेरो काम शुरु भयो। त्यतिबेला सम्पादक योगेश उपाध्याय हुनुहुन्थ्यो। उहाँसँग यो बिषयमा मेरो कुरा भयो। उहाँलाई मैले यदि तपाईंहरु चाहनुहुन्छ भने म कार्टून सधैंजसो बनाउन सक्छु भनेर भने। उहाँलाई मेरो कुरा मन परेछ। त्यसपछि हामीले डमिदेखि नै बनाउन शुरु गर्यौं।

तपाईंको बुझाईमा कार्टून के हो?

कार्टून दुईथरीको हुन्छन्। छापा माध्यमहरुमा आउने कार्टूनलाई ग्याग कार्टून भनिन्छ। त्यो धेरैजसो बिदेशतिर चल्छ। त्यसलाई ट्रिप कार्टूनहरु पनि भन्छ। त्यसमा राजनीति, सामाजिक त्यस्तो केही हुँदैन त्यो रमाइलो कुराहरु जस्तै चराहरुको कार्टून, पशुपंछीहरुको कार्टून जसलाई ग्याग कार्टून भनिन्छ। अर्को सम्पादकीय कार्टून हुन्छ। सम्पादकीय कार्टूनलाई राजनीतिक कार्टून पनि भनिन्छ। त्यो बिशेषगरी नेपालमा बिचार पृष्ठहरुमा आउँछ र भारतमा चाहिं पहिलो पृष्ठमा पनि राख्ने चलन छ। जुन हामी अभ्यास गर्दै आएका छौं। नेपालमा गर्ने भनेको कार्टून नै सम्पादकीय अथवा त्यसलाई राजनीतिक कार्टून भनिन्छ। कार्टून भन्ने हो भने एउटा माध्यम हो। हजार शब्दको लेख बराबर एउटा कार्टूनले वर्णन गर्नसक्छ भन्ने जुन भनाई छ, त्यो एकदमै सहि कुरा हो। त्यसमा हामी फेरी कम साक्षर मुलुकहरुमा कार्टूनको माध्यमबाट मान्छेहरुलाई सतर्क बनाउने उनीहरुलाई सुसूचित पार्ने माध्यम यहाँ एकदमै सशक्त छ। यसमा व्यङग्य पनि हुन्छ। समाज र राजनीतिक दलका नेताहरुले त्यो व्यङग्यलाई गम्भीर रुपमा पनि लिन्छन् र हाँसोको रुपमा पनि। गम्भीर रुपमा लिएर त्यो बिरुद्धमा चाहिं उत्रिँदैनन्। तर त्यसले के भनिरहेको छ भन्ने सन्देश भने ग्रहण गरेको मैले पाएको छु। त्यसको छाप के हुन्छ भने कुनै पनि चित्रकलाहरुको छाप दिमागमा बसिरहने हुन्छ। किनकी फोटो अथवा चित्रकलाहरु छापा भएर बसिरहेको हुन्छ। त्यसले पनि धेरै फरक पार्छ।

अहिलेसम्म कुन कुन मिडियामा कार्टून बनाउनु भयो?

नेपालभित्र र बाहिर ठ्याकै यति नै भन्ने चाहिं थाहा छैन। नेपालमा मात्र त आठ दश वटा मिडिया त भयो होला। नेपालमा मिडिया छरिएर आएको बीस पच्चीस वर्ष त भयो। कान्तिपुर, एभरेष्ट हेराल्ड, सगरमाथा, हिमाल मिडिया, दृष्टि साप्ताहिक, सम्बोधन साप्ताहिकहरुमा गरे। त्यसपछि इण्डिपेन्डेन्टमा गरें। नगारिकमा गरें। म यिनिहरुको शुरुवाती फेजमा नै थिएँ। अहिले अन्नपूर्ण पोष्टले बाह्रखरीमा छापिएका कार्टूनहरु प्रकाशित गर्छ।

तपाईंले शुरुमा कार्टून बनाउँदाको समय र आजको दिनमा कार्टून बनाउने प्रविधिमा के फरक देख्नुहुन्छ?

प्रविधिहरुमा धेरै फरक छ। अझ भनौं मैले सुरु गर्दाखेरी त फेटोकपीहरु आइसकेको थियो। फोटोकपी मेसिनबाट त्यसलाई सानो खुम्च्याउने, जसलाई पकेट कार्टून भनिन्छ जुन फ्रन्ट पेजमा आउँछ। सानो सानो कार्टूनहरु, जसलाई त्यो साइजमा बनाइँदैन। त्यसलाई ठूलोमा बनाएर सानोमा परिवर्तन गरिन्छ। त्यो पविधि मेरो पालामा त आइसकेको थियो। फोटोकपी नै हामी सानो पाथ्र्यौं। अहिलेको र पहिलेकोमा के फरक छ भने पहिला पत्रिकाहरु प्रिन्टमा फोटो खिचेर त्यसलाई फ्लेल्कसमा लगेर नेगेटिभ निकालेर त्यसलाई फोटो खिचेर मात्र प्रेसमा जान्थ्यो। अहिले प्रिन्ट भन्ने बित्तिकै सिधै जान्छ।  अहिले फोटोशपमा नै सानो ठूलो पार्ने पविधि एकदमै अगाडि बढेको छ। म भन्दा अगाडि दुर्गा बरालहरुले कार्टून बनाउँदा ब्लकमा बनाउँहुन्थ्यो।

सुरुका दिनमा केबाट कार्टून बनाउँनुहुन्थ्यो र अहिले के बाट बनाउँनु हुन्छ?

सुरुमा मैले एफोर साइजको पेपरहरुमा नै बनाउँथे। त्यसलाई घटाइन्थ्यो। त्यसमा बनाउँदा कलमले पहिला कोर्यो र त्यसमाथि फेरि कालो पेन्टले अथवा कालो मसीले फाइनल गर्ने। फिनिसिङहरु गरेर एफोर साइजमा बनाएर त्यसलाई सानो पारिन्छ। सानो कार्टून भन्ने जम्मा चार सेन्टिमिटरको हुन्थ्यो। अहिले चाहिं म डिजिटल प्याडहरुमा नै बनाउँछु। त्यसमा फोटोशपमा सिधै बनाउँछु। सजिलो छ। फोहोर हँुदैन। डिजिटल पेनहरु हुन्छ त्यसले बनाउँछु।

पत्रकारितामा कार्टूनको भूमिका र महत्व कत्तिको छ?

पत्रकारितामा कार्टूनको महत्व त धेरै नै ठूलो छ। पहिला एकपटक कान्तिपुरले सर्भे गर्दा मलाई कान्तिपुरको प्रकाशनले सुनाएको थियो, त्यहाँ सर्भे हुँदा हेडलाइन समाचारपछि हेरिने बिषय भनेको नै कार्टून हो। अब कार्टूनको महत्व कति छ भन्ने कुरा यसबाट नै थाहा हुन्छ। अर्को के हुन्थ्यो भने हरेक दिन बिहान कार्टून हेरिसकेपछि मलाई धेरै प्रतिक्रिया र टिप्पणीहरु आउँछन्। अहिले त सामाजिक संजालहरु छन्। त्यस्तै मैले कार्टून जो सम्बन्धी बनाएको छु ती व्यक्तिहरुमा पनि असर परेको मैले सुनेको छु। कसैले रुचाएर कटिङ पनि राख्ने गरेकका छन्। कार्टूनको असर यति गहिरो हुन्छ कि  एकजना पूर्व प्रधानमन्त्रीले कटिङ नै राख्नुहुन्थ्यो।

कार्टून बनाएकै भरमा आफ्नो र परिवारको गुजारा चल्छ त?

यो कार्टुनिष्टमा भर पर्ने कुरा हो। वास्तवमा भन्ने हो भने मज्जाले चल्छ। अहिले भन्दा दश वर्ष अगाडि एक लाखको हारहारीमा तलब हुन्थ्यो। यसलाई के भन्ने त। यो त धेरै राम्रो हो नि। अब सबैको यस्तो नहोला तर त्यो आफंैले बनाउन सक्ने कुरा हो। आफ्नो बिधामा काम गर्न राम्रो भयो भने सबैकुरा आफैं राम्रो हुन्छ। अहिले पनि त मलाई यति दिन्छु उति भनेर काम गर्न आउ भन्छन्। म किन यो कुरा सुनाउन चाहन्छु भने यस क्षेत्रमा अरु पनि काम गरुन भनेर हो। यसमा अझ बढि आकर्षण बढोेस् भनेर।  किनभने म अहिले यस क्षेत्रमा नयाँ पिंढीलाई देख्दिन। कमै आकर्षित भएको देख्छु। यसमा माग धेरै छ पैसा पनि छ। अहिले पनि एउटै कार्टून छापिए वापत १५ देखि २० हजार आउँछ, त्यो त सानो रकम होइन नि।

समकालिन कार्टुनिष्टहरुमा नम्बर वान कसलाई मान्नुहुन्छ र आफुलाई कुन नम्बरमा राख्नुहुन्छ?

म कार्टुनिष्ट दुर्गा बराल ‘वात्सायन’लाई नै नम्बर वानमा राख्छु। मलाई एकदमै मनपर्ने उहाँ नै हो। उहाँको लेभलसम्म पुग्न धेरै नै कसरत गर्नुपर्छ। उहाँको लेभलमा पुग्न त कतै सकिँदैन। म त सक्दिन। म आफुलाई सबैभन्दा पछाडि राख्छु। मलाई सबैको कार्टून राम्रो लाग्छ।

कार्टूनहरु प्राय घोचपेच गर्ने खालका मात्रै हुन्छन्, के कार्टुनिष्टहरुको दिमागमा सँधै यस्तै बिचार मात्रै किन खेलिरहन्छन् हो?

हो, यस्तो हुँदो रहेछ। यो कार्टून विधा सुरु हुनुभन्दा अगाडि देखि म कलेज पढ्दादेखि नै यो व्यङग्य गर्ने अरुलाई उडाउने गरिन्थ्यो। तर यसको मतलब अरुलाई दुःख लाग्ने गरी उडाउने होइन। म जहाँ पनि पुग्थें मलाई बोलाइन्थ्यो। त्यो हेर्दा लाग्छ मेरो व्यङग्य गर्ने कला मान्छेलाई रमाइलो लाग्दो रहेछ। व्यंग गर्ने शैली चाहि पहिला देखि नै थियो। पत्रिका त यसको मिडियम भयो। त्यसपछि यो बृहत रुपमा आयो।

आफूले बनाएको कार्टूनबाट परेको प्रभाव र प्रतिक्रिया कुनै स्मरणयोग्य घटना सम्झनुहुन्छ?

यसमा परेको प्रभाव भन्दा यहाँ के कुरा आउँछ भने यसको वजन कति हुन्छ। पहिला कान्तिपुरमा हुँदा  मैले एउटा कार्टून बनाएको थिएँ। त्यो नवलपरासीको सुस्तामा खोला यता उता हुन्छ नारायणी नदी। त्यहाँका स्थानीय बासिन्दाहरु जहिले पनि छिमेकी मुलुकबाट पीडित हुने। सुराक्षाकर्मीहरु आउने धपाउने धान काटिदिने उनीहरु सबैभन्दा पीडित। त्यसमा बिवाद भइरहेको थियो। हामी सानो मुलुक भएपछि त्यसलाई बल प्रयोग गर्न त सक्दैनौं। मैले उनीहरुको दादागिरिलाई लिएर एउटा कार्टून बनाएको थिएँ।

त्यसमा के थियो भने त्यतिबेला भारतका प्रधानमन्त्री मनमोहन सिंह थिए। उनी चाहि के भने मैले तिम्रो जमिनमा हामीले ओगेटेका छैनौं भनेर उनले आफ्नो खुट्टा भारतमा नै राखेका छन् तर बस्न चाहि पुरै ढकमक्क शरीर पारेर नेपालको जमिनमा बसेका छन्। मैले त तिम्रोमा टेकेको छैन नि भनेका छन्। यसकिसिमको कार्टून बनाएको थिएँ। त्योे कार्टुनले भारतीय दुतावास र भारतमा हलचल नै मचायो। त्यसपछि मलाई भारतीय दुतावासबाट चिठ्ठि आयो। तपाईंले किन यस्तो बनाउनु भएको हाम्रो उदेश्य यस्तो होइनन् भने उनीहरुले। यस्तो किसिमले व्यङग्य गरेकोले दःुख मनाउ गरेर कार्टूनले पीतपत्रकारिता झल्काउँछ भनियो। यो यस्तो हुँदै होइन भनिएको थियो। त्यो कार्टून अंगे्रजी र नेपाली दुबै पत्रिकामा आयो। त्यो भनेको एउटा देशले नै एउटा कार्टूनमाथि दिएको प्रतिक्रिया हो नि। अब त्यसको वजन कति रहेछ भन्ने कुरा यहाँ आउँछ। पछि हाम्रो सीमाविद् बुद्धीनारायण श्रेष्ठले  भारतीय राजदुतावासलाई पुरै छर्लङ्ग बनाएर एउटा मीठो चिठ्ठी लेख्दिनुभयो। उहाँले यो कार्टून गलत छैन भनेर प्रष्ट पार्नुभएको थियो। उहाँले मलाई अहिले पनि म तिम्रो त्यो कार्टून बिभिन्न कार्यक्रमहरुमा देखाउने गर्छु भन्नुहुन्थ्यो।

तपाईंको कोलम ‘फलानो’ निकै प्रख्यात छ, यो नाम कसरी राख्नुभयो?

मैले लुगाको पसल गरेको त चार–पाँच वर्ष भयो। कफि घर सुरु गरेको चाहि साढे दुई वर्ष जति भयो। फलानो भनेको एउटा त नेपाली नाम हो र अर्को फलानो भनेको एउटा कार्टून क्यारेकटर हो। एउटा साधारण मान्छे। त्यो पात्रलाई मान्छेहरुले मन पराउँछन् भन्ने मलाई महशुस हुन्छ। त्यो त मलाई आफ्नो पनि लाग्दैन त्यो त पाठकहरुको लागि नै हो। मैले एकपटक आफ्नो टवीट्र एकाउन्टमा यो नामलाई परिवर्तन गर्न पनि खेजें तर मलाई धेरैले नगर भनेर भने। त्यसपछि मैले एउटा सर्भे जस्तो गरें।  तीन चारवटा बनाएर कुन गर्दा कुनै पनि नगर भन्ने चांिह बढि सुझाव आयो। त्यसैले यसमा मेरो मात्र अधिकार छैन। त्यो देखिएन भने पनि पाठकहरुबाट प्रतिक्रिया आउँछ। कुनै कार्टूनमा त्यो उपस्थित भएन भने पहिलो प्रश्न नै फलानो खोई भनेर आउँछ। फलानो भन्ने नाम १९९८ मा हिमाल मिडियामा फलानो टाइटलबाट सुरु गरेको हो। फलानो नाम कनकमणि दीक्षितले राख्नुभएको हो।

कार्टून पत्रकारिता र व्यापार एकसाथ गर्नुभएको छ,कसरी समन्वय गर्नुहुन्छ नि?

यो आफ्नो रुचीको कुरा हो। तपार्इंले आफुले काम गरिरहेको पेशामा नै हात हाल्नु पर्यो भने त्यो त थाहा हुँदो रहेनछ। जस्तो लुगाहरुमा हा,े जो शुद्ध रुपमा टिर्सटहरु हुन् जसमा मेरै कार्टूनहरु हुन्छन्। यो कफिको चाहि के छ भने अलिकति यो पृथक छ। नेपालमा अर्गानिक कफिहरु एकदमै राम्रो उत्पादन हुँदोरहेछ। यसमा खासै ब्रान्डिङ हुनसकेको छैन। हाम्रो कफि ललितपुरमा उत्पादन हुन्छ। त्यहाँको लोकल कृषकहरुले गर्छन्। मैले सिधै त्यहिंबाट ल्याउँछु। म कहाँ कफि आउने भनेको लोकल कृषकहरुबाट नै हो । मैले बाहिरबाट ल्याउँदिन। शुद्ध रुपमा अर्गानिक कफि त्यसलाई एउटा अस्टे«लियन एजेन्टले सर्टिफाइड गर्छ र त्यो कफि ल्याएर म यहाँ काम गरिरहेको छु।

अब अन्तिममा कार्टून कै कुरा गरेर उठौं है त । तपाईंले बनाएका कार्टूनबाट सबैभन्दा बेखुश र सबैभन्दा खुशीको को भए होला?

त्यस्तो हुन्छ। हालसालै पनि एउटा घटना भएको छ। छाउपढी सम्बन्धी बाह्रखरी र अन्नपूर्णमा मेरो कार्टून निस्किएको थियो। त्यसमा बिवाद भयो र महिला वर्गमा चित्त दुखाई छ। त्यसमा मैले क्षमा पनि मागें। मैले चित्त दुखाईप्रति क्षमा मागेको हो। म अहिले पनि मेरो त्यो कार्टून गलत छ भन्ने कुरालाई स्वीकार गर्दिन।

 अर्को चाहि निकै अगाडि कहिलेकाहीं कस्तो गल्ती हुन्छ भने नजानिंदो गल्तीले गर्दा अरुहरुले दुःख पाउँदा रहेछन्। मैले कान्तिपुरमा हुँदा एउटा कार्टून बनाएको थिएँ। त्यो कार्टूनमा तीन चारवटा फोन नम्बरका जस्तै नम्बर तर फोन नम्बर भनेर पुरै नम्बर होइन कि गृहमन्त्रालयको चारवटा नम्बर मात्र राखेर एउटा कार्टून बनाएको थिएँ। फेरि पुरै नम्बर त राख्नु भएन तर त्यो कार्टूनमा भएको नम्बरमा अगाडि अन्य नम्बर आफैं थपेर मान्छेहरुले फोन गर्ने गरेका रहेछन्। त्यो फोन बालुवाटारमा एउटा परिवारको घरमा पनि जाँदो रहेछ। एकहप्तासम्म उहाँहरुले दुःख पाउनुभयो। म हरेक दिन बेलुका फोन गरेर उहाँहरुसँग क्षमा माग्थें। त्यसले गर्दा मलाई साह्रै नै गाह्रो पनि भयो। त्यो त त्यस्तो काम गर्नेहरुको बदमाशी नै हो।  यस्तै यस्तै अनुभवहरु छन्, त्यसैले एकदमै धेरै सोचेर कार्टून बनाउँछु।  

प्रस्तुति : सुकृत नेपाल 


 

ताजा खबर