भरतपुरमा जगन्नाथको भएन उम्मेदवारी फिर्ता

२०७९ बैशाख १६ शुक्रबार १७:४१:०० मा प्रकाशित

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । तर उनले उम्मेदवारी फिर्ता लिएनन् । नेकपा माओवादी केन्द्रलाई भरतपुरको मेयरमा सघाउने पार्टी निर्णयको विरुद्धमा पौडेलले ‘बागी’ उम्मेदवारी दिएका थिए ।

कांग्रेसको विधान अनुसार अब पौडेलसहित प्रस्ताव र समर्थक कांग्रेसबाट स्वतः निष्कासित भएका छन् । कांग्रेसले आजै विज्ञप्ति जारी गरेर ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने स्वतन्त्र उम्मेदवारहरु साधारण सदस्यसमेत नरहने गरी निष्कासन हुने चेतावनी दिएको थियो ।

पोखरामा उम्मेदवारी फिर्ता

पोखरा महानगरपालिकामा बागी उमेदवारी दिएका ऋषि सापकोटा र नन्दु तिवारीले उमेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा क्रियाशील उनीहरुले उम्मेदवारी दर्ता गराएका थिए । पार्टीले निर्देशन दिएको भन्दै उम्मेदवारी फिर्ता गरिएको जानकारी गराएका छन् । सापकोटा कास्की कांग्रेसका पूर्वसचिव हुन् भन् तिवारी पूर्व कोषाध्यक्ष । अर्का बागी विमलबहादुर कार्कीले भने उमेदवारी फिर्ता लिएका छैनन् ।

ताजा खबर