दुई दिन बिदा दिने निर्णयको होटल सङ्घद्वारा स्वागत

२०७९ बैशाख १६ शुक्रबार १६:०९:०० मा प्रकाशित

पोखरा । होटल सङ्घ पोखराले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार विज्ञप्ति जारी गरी आगामी जेठ १ गतेबाट लागू हुने गरी मन्त्रिपरिषद्ले गरेको शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने उल्लेख गरेका हुन् ।

लामो समयदेखि विविध समस्या झेल्दै आएको पर्यटन क्षेत्रमा दुई दिने बिदाको व्यवस्थाले केही रुपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । सङ्घले दुई दिन बिदाको व्यवस्थालाई लामो समयदेखि माग गर्दै आएको पनि अध्यक्ष सुवेदीले स्मरण गरेका छन् ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रुपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास सङ्घले लिएको विज्ञप्तिमा भनिएको छ ।

ताजा खबर