राष्ट्रसङ्घका महासचिव किएभमा भएकै बेला रुसी क्षेप्यास्त्र प्रहार

२०७९ बैशाख १६ शुक्रबार ०९:०१:०० मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानीको भ्रमणमा रहेका बेला किएभमा दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएका छन् । उनले उक्त खबरबाट आफू स्तब्ध भएको बताएका छन् ।

किएभका मेयर भिताली क्लित्च्कोले क्षेप्यास्त्रले केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएको र कैयौँ मानिसहरू घाइते भएको बताए । घटनास्थलमा रहेका एकजना आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै त्यो क्राइमियाबाट प्रहार गरिएको बताए ।

राष्ट्रपति जेलेन्स्कीले उक्त आक्रमणले विश्व सङ्गठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको र त्यसप्रति कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन् । उनले किएभ र अन्य शहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने प्रस्ट पारेको उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरसले युक्रेनको द्वन्द्व रोक्न वा अन्त्य गर्न विफल भएकोमा आफ्नै सङ्गठनको सुरक्षा परिषद्को आलोचना गरेका छन् । किएभमा बोल्दै उनले त्यो ठूलो खिन्नता, निराशा र क्रोधको कारक रहेको बताए।
 

ताजा खबर