असन्तुष्ट १० खेलाडी भन्छन् -अल्मुताइरीको प्रशिक्षणमा फर्किन गाह्रो छ

२०७९ बैशाख १५ बिहीबार १८:५०:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका असन्तुष्ट १० खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन नसकिने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुले सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले निकालेको भन्दै टिममा फर्किन नसकिने बताएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित होस्टलमा बस्न धेरै नै समस्या रहेको भन्दै आफूहरुलाई होटलमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्दा प्रशिक्षकले रोहित चन्दलाई निकालेको खेलाडीले दाबी गरेका छन् । खेलाडी अनन्त तामाङले बारम्बार कुरा गर्न खोज्दा उहाँले छाडेर जाओ भनेपछि आफूहरु बाध्य भएर निस्किएको बताए ।

प्रशिक्षक अल्मुताइरीले आफूहरुलाई इनसाइड फिल्डमा मात्र नभइ आउटसाइट फिल्डमा पनि हस्तक्षेप गरेको आरोप उनीहरुले लगाए । तामाङले अहिलेको यो घटनामा आफूहरु दोषी भए कारबाहीका लागि तयार रहेको भन्दै छानबिन गरिदिन एन्फासमक्ष आग्रह गरेका छन् । खेलाडी रोहित चन्दले राष्ट्रिय टोलीमा फर्किए पनि आफूहरुलाई प्रशिक्षक अल्मुताइरीमाथि विश्वास नहुने बताए ।

उनले भने, ‘अल्मुताइरी आएपछि टिममा परिवर्तन भने धेरै भएको छ। पहिलेको तुलनामा हामीले खेलहरु पनि धेरै खेल्न पाइरहेका थियौं। तर, हामीलाई उहाँसँग व्यक्तिगत रुपमा समस्या छ। अब हामी टोलीमा फर्किए उहाँलाई हामीप्रति ट्रस्ट हुन्न।’
 

ताजा खबर