एमालेको घोषणापत्रको बहसमा आउन गगन थापालाई ओलीको चुनौती

२०७९ बैशाख १५ बिहीबार १८:४२:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घोषणापत्रको बहसमा आउनेलाई स्वागत गर्ने बताएका छन् । बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बालकोट गएर ट्युसन पढाउने अभिव्यक्ति दिएका कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

उनले ट्युसन क्लास दिन आउने गगनलाई नयाँ र सिकारु नेता भिडाउने बताए । उनले भने,‘कोही ट्युसन क्लासहरु चलाउन तयार छन् भने हाम्रो लागि ठूलो कुरा होइन । भर्खर भर्खर पास गरेका थुप्रै जना छन्। हामी भिडादिउँला। हामी बहस गराइदिँउला।’ उनले नेपाली कांग्रेसको विचार शून्य रहेको भन्दै वैचारिकरुपले कुहिराको काग भएको बताए ।

अध्यक्ष ओलीले निर्वाचनको बेला उम्मेदवारको चरित्र हत्या गर्न ‘मिटु’ अभियान ल्याउने गरिएको बताए । उनले मिटुको कुनै जवाफ नभएको बताए । उनले भने,‘चुनावका बेला यस्ता कुरा उचाल्छन्, जसले वाइडबडी खायो उसैले कुरा निकाल्छ । यस्तो बेलामा चरित्रहत्या र मीटु आउँछन् । मीटुको कुनै जवाफ आउँछ ? यस्तो बेलामा मीटुको के जवाफ ? चुनाव आयो कि मीटु !’

उनले एमाले महान उद्देश्यतर्फ अघि बढेको भन्दै महिला अस्मिताको रक्षा एमालेले गर्ने बताए । उनले पाँच दलीय गठबन्धनलाई लुतोको संज्ञा दिए । उनले पाँच दलीय गठबन्धनलाई निर्वाचनमार्फत बिदा गर्नुपर्ने बताए । उनले भने, ‘पाँचदलीय गठबन्धन लुतो हो । ठूलै घाउ पनि होइन तर चिलाको चिलाई गर्छ । यो केही समयका निम्ति पीडा हो । यो पीडाको अन्त्य वैशाख ३० मा गर्नुपर्छ । त्यसलाई लुतो फाल्ने दिन बनाउनुपर्छ ।’

ताजा खबर