मनाङमा हेलिकोप्टरबाट मतपत्र ढुवानी

२०७९ बैशाख १५ बिहीबार १७:०१:०० मा प्रकाशित

मनाङ । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा मतपत्र ल्याइएको छ । हिमाली जिल्ला मनाङमा हेलिकोप्टरबाट नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो । जिल्लामा नेपाली सेनाले नौ हजार थान मतपत्र ल्याएको बताइएको छ ।

ती मतपत्र जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितरूपमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा आयोगले हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाएको जनाएको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।

निर्वाचनका लागि जिल्लामा २८ वटा मतदानस्थललाई नै मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकृत पुष्पराज शर्माले जानकारी दिए । जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाल जिल्लाको मुख्य निर्वाचन अधिकृत हुन् । निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन सम्पन्न गराइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

निर्वाचनमा सहभागी सबैको सुरक्षाको प्रत्याभूति हुने गरी जिल्लामा सुरक्षा योजना बनाएको उनले बताए । जिल्लामा कूल मतदाता छ हजार ४९६ जनामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष मतदाता छन् । यस्तै जिल्लामा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका चार गाउँपालिकामा आइतबार र सोमबार कूल २१० जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लाको ङिस्याङ गाउँपालिकामा ७३, चामे गाउँपालिकामा ४२, नासोँ गाउँपालिकामा ६८, नार्पाभूमि गाउँपालिकामा २७ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए । यस्तै चार गाउँपालिका अध्यक्ष पदका लागि नौ र उपाध्यक्षमा आड जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि ४८, महिला वडा सदस्यमा ४१, दलित सदस्यमा २२ र खुला सदस्यमा ८२ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।
 

ताजा खबर