विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी

२०७९ बैशाख १४ बुधबार १४:२१:०० मा प्रकाशित

काठमाडौं । नेपाल बक्सिङ सङ्घले विश्व महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । सङ्घले अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनशिप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला चार बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।

आगमी मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुल सहरमा हुने १२ औँ विश्व महिला बक्सिङ च्याम्पियनशिपमा नेपालबाट सुस्मन तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा र पुनम रावलले प्रतिस्पर्धा गर्नेछिन् ।

सुस्मनले ४८ केजी तौल समूहमा, मिनुले ५२ केजी, चन्द्रकलाले ५७ केजी र पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी उक्त चारजना खेलाडीहरु गत महिना थाइल्यान्डमा भएको खुला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनशिप खेलेर आएका खेलाडी हुन् ।

खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आइबा थ्री स्टार प्रशिक्षक दीपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र साँझ प्रशिक्षण दिइरहेका छन् । आसन्न १९औँ एसियन प्रतियोगिता (एसियाड) को तयारीका लागि पनि यस प्रतियोगिता महत्वपूर्ण हुने सङ्घले जनाएको छ ।

ताजा खबर