भ्रष्टाचारको आरोपमा सुकीलाई थप पाँच वर्ष जेल सजाय

२०७९ बैशाख १४ बुधबार १३:०३:०० मा प्रकाशित

सैन्य शासनमा रहेको म्यान्मारको एउटा अदालतले गोप्य सुनुवाइपछि नेतृ आङ सान सूकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूमा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन् । सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता सुकीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ ।

उनले सबै आरोपहरूको अस्वीकार गरेकी छन् भने अधिकारकर्मीहरू अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँछन् । राजधानीस्थित अदालतमा भएको सुनुवाइमा नागरिक उपस्थिति नहुने गरी बन्द ढोकाभित्र भएको थियो । सूकीलाई वकिल र पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो ।

बुधबार अदालतले उनलाई म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो । उनलाई पाँच वर्षको जेल सजाय तोकिएको छ। यो सजायपछि उनको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ । गत डिसेम्बरमा उनलाई कोभिड नियम तोडेको मुद्दामा र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।

सूकीमाथि अझै १० अन्य भ्रष्टाचारका मुद्दाहरू छन् र ती प्रत्येकमा उनलाई अधिकतम १५ वर्षको जेल सजाय हुन सक्छ। उनीमाथि चुनावमा धाँधली गरेको र राज्यको गोप्य सूचना चुहाएको मुद्दा पनि छ ।

सबै मुद्दामा दोषी ठहरिए उनलाई १९० वर्षसम्म जेल सजाय हुनसक्ने आँकलन गरिएको छ । संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहले अदालती कारबाहीलाई नाटकको संज्ञा दिएका छन्।


 

ताजा खबर