रुसी कम्पनीले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति रोक्ने

२०७९ बैशाख १४ बुधबार १२:५९:०० मा प्रकाशित

रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बल्गेरियालाई बुधबारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ । पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने जनाएको छ । बल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधबारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ ।

रुसले मित्रवत् व्यवहार नगर्ने देशहरूले कि रुबलमा ग्यासको भुक्तानी गर्न थाल्नुपर्ने वा आपूर्ति कटौती गर्ने बताएपछि यस्तो अवस्था उत्पन्न भएको हो । दुवै देशले त्यसरी भुक्तानी गर्न अस्वीकार गरेका छन् ।

पीजीएनआईजी अधिकांश ग्यास आयातका लागि ग्याजप्रोममा निर्भर छ । उसले यस वर्षको पहिलो त्रैमासिकमा उक्त रुसी कम्पनीबाट आयातको ५३ प्रतिशत ग्यास किनेको छ ।

पीजीएनआईजीले आपूर्ति रोक्ने कार्यलाई सम्झौताको उल्लङ्घनका रूपमा वर्णन गरेको छ र ग्यास आपूर्तिलाई पुनर्स्थापित गर्न कदम चाल्ने बताएको छ । बल्गेरिया ९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि ग्याजप्रोममा निर्भर रहेको छ । उसले रुसले प्रस्ताव गरेको नयाँ भुक्तानी प्रणालीले विद्यमान सम्झौता उल्लङ्घन गर्ने उल्लेख गरेको छ ।

ग्यास आपूर्ति बन्दको खबरसँगै पोल्यान्डको जलवायु मन्त्रालयले देशको ऊर्जा आपूर्ति सुरक्षित रहेको बताएको छ । जलवायुमन्त्री अन्ना मोस्कवाले भण्डारबाट ग्यास निकाल्न आवश्यक नरहेको र ग्राहकले पनि ग्यास खपत कटौती गर्नु नपर्ने बताइन् । पोल्यान्डका उप–विदेशमन्त्री मार्चिन सिड्याचले उनको देशले रुसबाट हुने ग्यास निर्यात सीमित हुनसक्ने सम्भावनाका लागि तयार रहन आपूर्तिमा विविधीकरणको तयारी गरिरहेको बताएका छन्।


 

ताजा खबर