ओलीको अभिव्यक्ति तल्लोस्तरकोः प्रवक्ता महत

२०७९ बैशाख १३ मंगलबार १९:१३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार निर्वाचन भिडियोको विमोचन कार्यक्रममा उनले भने, “देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ, तर एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणापत्रप्रति तल्लोस्तरको अभिव्यक्ति दिनुभएको छ । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।”

प्रवक्ता डा महतले एमालेले आचारसंहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गरे । एमाले अध्यक्ष ओलीले मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसको सङ्कल्पपत्रप्रति नकारात्मक टिप्पणी गरेका थिए ।

उनले आफ्नो पार्टीले शालीनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको बताउँदै स्थानीय सरकार जनताको घरदैलो पुग्ने सरकार भएको कांग्रेसले स्थानीय आश्यकता र नागरिकका चाहना सम्बोधन गर्ने गरी स्थानीय तहमा नै घोषणापत्र ल्याउने पनि उल्लेख गरे । उनले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको घोषणापत्र स्थानीय सरकारलाई सबल, सक्षम, उत्तरदायी र सेवाप्रवाहमुखी बनाउने ध्येयले ल्याएको नीतिगत सङ्कल्प भएको उल्लेख गर्दै यसले जनताका अप्ठेरो समाधान गर्न सघाउने बताए ।

कांग्रेसले राज्य सञ्चालनको अवसर पाउँदा जहिले पनि जनता र देशको हितमा काम गरेको दाबी गर्दै प्रवक्ता डा महतले पार्टीका नीति, कार्यक्रम र पार्टीले तीनै तहका सरकारमा रहँदा गरेका कामलाई जनतासमक्ष पुर्याउन चर्चित कलाकारको टिमले निर्माण गरेको भिडियो सन्देशमूलक रहेको बताए ।
 

ताजा खबर