गभर्नर अधिकारीको रिट हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

२०७९ बैशाख १३ मंगलबार १८:५८:०० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट हेर्दाहेर्दैमा परेको छ। मंगलबार संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्च अदालत प्रशासनले अधिकारीको रिटमाथि अब बिहीबार सुनुवाइ हुने जनाएको छ। अधिकारीको रिटमाथि दोस्रो सुनुवाइका लागि मंगलबार न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा पेसी परेको थियो ।

आफूमाथि छानबिन गर्ने जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने पक्षमा छलफल गर्न दुवै पक्षलाई वैशाख आज छलफलमा बोलाउन समेत आदेश दिएको थियो ।

विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो।
 

ताजा खबर