कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दाः अध्यक्ष ओली

२०७९ बैशाख १३ मंगलबार १२:५७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दाको संज्ञा दिएका छन् । मंगलबार मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा अध्यक्ष ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको बताएका हुन् ।

उनले नेपाली काँग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गालीगलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्तावेज चोरेको आरोपसमेत लगाए । अध्यक्ष ओलीले २०६२÷०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताए ।

उनले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाए । उनले नेपाली काँग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र काँग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताए ।

उनले भने, ‘नेपाली काँग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ । नेपाली काँग्रेसले, नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमालेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए । हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा । कुनै गन्तव्य हुँदैन । उत्ताउलो विकास । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे । हाम्रा खोला खोल्सीहरुमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको । के भएको नेपाली काँग्रेसलाई । एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो । पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन । राष्ट्रपतिलाई शेरबहादुरलाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ । राष्ट्रपतिमाथि हमला गरेको छ । नेपाली काँग्रेसलाई सन्चो छ कि छैन ? एकपटक घोषणा गर्न भन्दा अघि सोध्न मन लागेको छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाए । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभइ केन्द्र भएको दाबी गरे । चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उनको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गरे ।

उनले भने,‘नेपालमा अहिले माओवादी भन्ने पार्टी चुनावमा जाँदैछ । हुन त त्यो माओवादी पार्टी होइन, केन्द्र हो । यस्तो सेन्टरहरु विभिन्नले खोलेका छन् नि । यस्तै माओवादी एउटा सेन्टर हो । त्यसले चुनाव घोषणापत्र नै निकालेन । माओवादीको चुनाव घोषणापत्र छैन । काँग्रेसले निकालेकै छ भइगयो नि भन्नेछ । माओवादी अब पार्टी भयो त केन्द्र नभएर । सोध्नुस् न किन ननिकालेको, के गर्छ ? उसले भन्दा भन्नै मिल्दैन उसले गर्ने कुरा कसरी निकाल्नु घोषणापत्र ? माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुरा त्यो उसले भन्ने मिल्दैन । सधैँ झुटो लेख्न पनि त गाह्रो । हुन त माओवादीलाई उल्टा कुरा गर्न गाह्रो त छैन । अफ्ठ्यारो त लाग्दैन तर । यसपल्ट गाह्रै परेछ । उसले चुनाव घोषणापत्र निकालेन ।’

ताजा खबर