एमानुएल माक्रोँ पुनः फ्रान्सको राष्ट्रपतिमा विजयी

२०७९ बैशाख १२ सोमबार ०८:०५:०० मा प्रकाशित

एमानुएल माक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक फ्रान्सका राष्ट्रपति भएका छन् । माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ । आइफल टावरको फेदमा उदारवादी माक्रोँले हर्षोल्लासका साथ आफ्ना समर्थकहरूलाई अब चुनाव सकिएकाले आफू सबैका लागि राष्ट्रपति बनेको बताएका छन् ।

उनकी प्रतिद्वन्द्वी ल पेनले पराजित भएपनि आफूले पाएको मतले जितेको बताइन् । उनले आफ्ना समर्थकहरूलाई आफूहरूका राष्ट्रिय र्यालीहरूले आफ्नो विचारलाई नयाँ उचाइमा पुर्याएको बताइन् । तर उनका उग्रदक्षिणपन्थी प्रतिस्पर्धी एरिक जेम्डुरले ल पेन पनि उनका पिताजस्तै असफल भएको बताएका छन् ।

आफ्नो विजयपछिको मन्तव्यमा माक्रोँले उग्रदक्षिणपन्थीलाई मतदान गर्ने निर्णय गर्ने देशवासीको आक्रोश र असहमतिलाई पत्ता लगाउनैपर्ने बताएका छन् । उनले त्यो काम अब आफू र आफू वरपरका व्यक्तिहरूको भएको पनि बताए ।

माक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत भएको छ। फ्रेन्च राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको बताइएको छ । त्यो भनेको राष्ट्रपतीय निर्वाचनमा सन् १९६९ यताको सबैभन्दा कम मतदान हो।

ताजा खबर