पोखरा महानगरपालिकाको मेयरमा ११ जनाको उम्मेदवारी

२०७९ बैशाख ११ आइतबार २१:५४:०० मा प्रकाशित

कास्की । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकामा आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयको आइतबार पहिलो दिन मेयरमा ११ र उपमेयरमा चार जनाको मनोनयन दर्ता भएको छ ।

ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता नगरे पनि साना र स्वतन्त्र उम्मेदवारले सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन् ।

प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गोविन्द गुरुङ, मौलिक जरो किलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मङ्गोल नेशनल अर्जनाइजेसनका प्रेमबहादुर गुरुङ र नेपाल जनता दलका मुक्तिनाथ सुवेदीले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सूचना अधिकारी नील पनेरुले जानकारी दिए ।

यसैगरी स्वतन्त्र उम्मेदवारह खडकराज पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बाँस्तोला र किशानसिंह गुरुङले मनोनयन गराउनुभएको छ । यसैगरी उपप्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट चिना दवाडी, सचेत नेपाली पार्टीका सोनी परियार, मङ्गोल नेशनल अर्गनाइजेसनका रामबहादुर तामाङ र स्वतन्त्र सोममाया विकले मनोनयनपत्र दर्ता गराएका पनेरुले जानकारी दिए । उनका अनुसार पोखरामा पहिले दिन ४७ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाका प्रमुख राजनीतिक दलले भने उम्मेदवार टुङ्गो लगाउन नसक्दा पहिलो दिन उम्मेदवारी दर्ता गराएनन् । नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको सत्तारुढ गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले जिल्लाका कुनै पनि पालिकामा मनोनयन दर्ता गराएका छैनन् ।

सत्ता गठबन्धनले जिल्लामा अहिलेसम्म पनि औपचारिक सिट बाँडफाँट टुङ्गो लगाउन सकेको छैन । गठबन्धनका नेता दिनहुँ छलफलमा जुटे पनि अझै सहमति बन्न नसकेको बताइन्छ । गठबन्धनले आज रातिसम्म बाँडफाँट तय गरिने जनाएको छ । एमालेले पनि पालिका र जिल्लाबाट सिफारिस भएर आएका नाममा अझै छलफल भइरहेको जनाएको छ ।

ठूला राजनीतिक दलले सोमबार मनोनयन दर्ताको तयारी गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । निर्वाचन अधिकृतको कार्यालयले महानगरको प्रमुख र उपप्रमुखका लागि एक हजार ५०० रुपैयाँ, वडाध्यक्षका लागि एक हजार र सदस्यका लागि ५०० रुपैयाँ दर्ता शुल्क तोकेको छ ।

ताजा खबर