आगलागीबाट कैलालीमा दर्जनौ घर जलेर नष्ट

२०७९ बैशाख ११ आइतबार १८:०८:०० मा प्रकाशित

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ को विपतपुर गाउँमा आइतबार अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएका छन् ।     

धनगढीबाट झण्डै ३५ किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको विपतपुर बस्तीका कच्ची घरमा भएको आगलागी नियन्त्रण गर्न दमकलसहित प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । उक्त गाउँमा मुक्त कमैया बस्ती रहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त गाउँमा ६० घर जलेर क्षति पुगेको भन्ने प्रारम्भिक जानकारी आएको जानकारी दिए । घटनाबाट पुगेको क्षतिको एकीन विवरण आउन बाँकी छ । आगलागी भएको खबर पाएपछि भजनी प्रहरी कार्यालयबाट घटनास्थल पुगेको प्रहरी टोलीले आगो नियन्त्रणको प्रयास गरेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी थापाले दुई वटा दमकलको सहायतामा प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा केही समयअघि मात्रै आगो नियन्त्रणमा आइसकेको जानकारी आएको बताए । घटनास्थलतर्फ गइरहेको प्रजिआ थापाले भने ‘‘आगलागी पीडितको उद्धार र राहतको व्यवस्थापनको काम पनि तत्कालै सुरु गर्न लागेका छौँ ।’’
 

ताजा खबर