यस्तो छ नेपाली कांग्रेसको चुनावी घोषणापत्र

२०७९ बैशाख ११ आइतबार १४:२५:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र, प्रतिपक्षमा कांग्रेसले निभाएको जिम्मेवारीपूर्ण भूमिका, राष्ट्रिय संकटको बेला कांग्रेसले खेलेको भूमिका, आगामी १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरेको छ । कांग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ ।

घोाणापत्रमा जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको छ । सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ । कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने पनि कांग्रेसले बताएको छ ।

नेकपा एमालेले समृद्ध नेपालको राजनीतक भाष्य र कोरा विकासको मोडल बनाएको भन्दै कांग्रेसले भनेको छ, ‘समृद्ध नेपालको त्यो अवधारणामा व्यापक भौतिक विकास, ठूलाठूला पूर्वाधारका संरचना, अग्ला भवन, भ्यूटावर, भीमकाय एयरपोर्ट र हिमालमा रेल चढाउने लगायतका सपनाको व्यापार गरिएको छ ।’

ताजा खबर