जय ललिताको रिक्तता पुर्न चाहन्छन् रजनीकान्त

२०७४ पौष १८ मंगलबार ११:५१:०० मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले आइतबार आफ्ना प्रशंसकलाई नयाँ वर्षको शुभकामना दिँदै घोषणा गरे कि उनी आफ्नो छुट्टै पार्टी बनाएर तमिलनाडुका सबै सिटमा चुनाव लड्नेछन्।

उनले राज्यमा लोकतन्त्र अझै राम्रो हुन नसकेको बताउँदै राजनीतिमा आउनु समयको आवश्यकता भएको उल्लेख गरे। रजनीको यस घोषणासँगै उनको राजनीतिमा आउने लामो समयदेखिको ‘सस्पेन्स’ अब सकिएको छ।

‘थलैवा’को नामले सुपरिचित रजनीकान्तले आफ्नो निवासमा प्रशंसकहरूलाई सम्बोधन गर्दै भने, ‘म राजनीतिमा आउँदै छु। राजनीतिमा आउनु समयको आवश्यकता भएको छ। तमिलनाडुको राजनीतिमा परिवर्तनको समय आएको छ।’ उनले अगाडि थपे, ‘हामी व्यवस्था बदलिदिनेछौँ। आउने चुनावमा एउटा पार्टी बनाइनेछ र तमिलनाडुका सबै सिटमा चुनाव लडिनेछ।’

उनले आफू राजनीतिमा पैसा वा पदका लागि नआएको भन्दै तमिलनाडुका जनताले यी सबै कुरा आफूलाई दिइसकेको बताए। ‘लोकतन्त्र अझै कमजोर छ। अर्को राज्यका मानिसले हामीलाई खिसी गर्छन्। मलाई यसबाट ग्लानी हुन्छ, यदि मैले यही बेला एउटा निर्णय गरिनँ भने’, उनले भने, ‘लोकतन्त्रको नाममा नेताहरूले हाम्रो पैसा, हाम्रो जमिन लुटिरहेका छन्। हामी यसमा परिवर्तन ल्याउनेछौँ। आउने चुनावमा हाम्रा सेना तयार हुनेछन्।’

रजनीकान्तले आफू तमिलनाडुका जनताप्रति उत्तरदायी भएको र सबै २३४ सिटमा चुनाव लड्ने बताए। ‘म नेता बन्नेछु र मेरा सेना आगामी विधानसभा चुनाव लड्नेछन्।’ आफ्ना सबै फ्यान क्लब अब एउटै छातामुनि आउने र आफूले पद्धतिलाई सफा बनाउन तिनको प्रयोग गर्ने उनको भनाइ थियो।
रजनीकान्तले सत्य, कार्य र विकास उनको पार्टीका तीन मन्त्र हुने दाबी गरे। यसका लागि समय पर्खनुपर्छ कि कसरी यो हासिल हुनसक्छ। जयललिताको मृत्युपछि राज्यमा एउटा शून्यता पैदा भएको थियो। यहाँसम्म कि भाजपा तमिलनाडुमा आफ्नो प्रभाव राख्न चाहन्थ्यो। उनले भने, ‘म धर्मनिरपेक्ष वा आध्यात्मिक राजनीति गर्न चाहन्छु।’

उनले आफूले एउटा राजनीतिक दल बनाउने र समाजका हरेक तप्काका मानिसलाई सहयोग गर्ने पनि बताए। थलैवाको राजनीतिमा आउने घोषणासँगै उनका प्रशंसकमा खुशीको लहर पैदा भएको छ। उनीहरूले खुशी मनाएका छन्।

उता, रजनीको राजनीतिमा आउने घोषणासँगै राजनीतिक दलका तर्फबाट प्रतिक्रिया पनि आउन थालिसकेका छन्। भाजपा नेता सुव्रमण्यम स्वामीले भने, ‘रजनीकान्तले राजनीतिमा आउने घोषणा मात्र गरेका हुन्। कुनै विवरण वा दस्तावेज दिएका छैनन्। उनी अशिक्षित छन्। यो मिडियामा प्रचारबाजीका लागि मात्र हो। तमिलनाडुका जनता समझदार छन्।’

उता, दक्षिणी फिल्मका अर्का सुपरस्टार कमल हसनले रजनीकान्त राजनीतिमा आएकामा बधाई दिएका छन्। हसनले भनेका छन्, ‘म आफ्ना बन्धु रजनीलाई राजनीतिमा आएकामा बधाई दिन्छु। उनलाई स्वागत छ।’ एजेन्सीहरुको सहयोगमा 
 

ताजा खबर