आर्थिक अभावमा महाबौद्ध अनाथ विद्यापीठ बन्द हुने अवस्थामा

२०७४ जेठ २९ सोमबार २०:२९:०० मा प्रकाशित

नवलपरासी, २९ जेठ । नवलपरासीमा रहेको एकमात्र अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ यतिबेला आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।

काठमाडौँ बाहिरको बौद्ध शिक्षा अध्ययन हुने एकमात्र विद्यापीठमा हाल आर्थिक सङ्कट परेपछि बन्द हुने अवस्थामा पुगेको हो ।

मासिक रु पाँच लाखसम्म खर्च लाग्ने यस विद्यालयमा हाल आर्थिक अभाव हुँदा निकै समस्या परेको विद्यालयकी प्राचार्य सानुमाया पार्खिनले बताए।

जिल्लाको दाउन्ने डाँडामा स्थापित यस विद्यापीठमा विभिन्न २४ जिल्लाका १०२ जना अनाथ बालबालिका आवासीय रुपमा अध्ययनरत छन् । विभिन्न कारणबाट घरपरिवारको संरक्षणमा रहन नसकेका र बिशुद्ध अनाथ बालबालिकालाई बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले २०५५ सालदेखि विद्यापीठ सञ्चालन गरिएको हो ।

बौद्ध समुदायले सामान्य पूजापाठ र भिक्षादान साथै मुठ्ठी दानको सहयोगबाट सञ्चालन हुँदै आएका यस विद्यापीठमा अहिले आर्थिक अभाव भएको छ ।

प्राचार्य सानुमाया पार्खिनले भनिन् “अहिले बालबालिकालाई खानको समेत समस्या साथै अध्ययन गराउन रकम अभावमा शिक्षकको समस्या छ , हाल यस विद्यापीठमा निजी स्रोतबाट सामान्य खाजा खर्चमा ११ जना शिक्षक रहँदै आएका छन् । विद्यापीठमा कक्षा ८ सम्मको पठाइ हँुदै आएको छ ।

यस विद्यापीठमा हाल रसुवा, धादिङ, पाँचथर, चितवन, नुवाकोट, गोर्खा, रामेछाप, दोलखालगायतका विभिन्न २४ जिल्लाका अनाथ बालबालिकाले बौद्ध शिक्षा अध्ययन गर्दै आएका छन् । रासस

ताजा खबर