जिल्ला तहमा सिट बाँडफाँटप्रति माधव नेपाल असन्तुष्ट

२०७९ बैशाख १० शनिबार १३:४०:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दाबी लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उलने स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको जिल्ला तहको रिपोर्टले आफूहरुलाई उत्साही नबनाएको पनि बताए । महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँटले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिपोर्टले भने आशावादी नबनाएको उनको भनाई थियो ।

उनले भने, ‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवद्र्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिपोर्टहरु सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन । हामीले भनेका थियौ–देशैभरी हाम्रो पार्टीको सञ्जाल छ । हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरी हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ ।’

उनले मनोनयका बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षडयन्त्र एमालेले गरिरहेको आरोप लगाए । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिएको उल्लेख गर्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिए । अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दावी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन आह्वान गरे ।

ताजा खबर