नेकपा एमालेले आज चुनावी घोषापत्र सार्वजनिक गर्ने

२०७९ बैशाख ९ शुक्रबार ०९:०४:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्दैछ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा एक कार्यक्रम गरी एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । यस्तै एमालेले आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने र तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गर्ने भएको छ ।

त्यसैगरी बिहीबार बसेको सचिवालय बैठकले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे शनिबार टुंगो लगाउने निर्णय गरेको छ ।पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीले गरेको सिफारिसबारे छलफल भएको र शनिबार दिउँसो ३ बजे बालकोटमै बैठक बसेर उम्मेदवारको टुङ्गो लगाउने बताए ।

सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशसभाका सदस्यलाई पालिकाको नेतृत्वको लागि टिकट नदिने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङले त्यहाँ सरकार परिवर्तन हुनसक्ने सम्भावना रहेको र त्यसलाई ध्यानमा राखेर यस्तो निर्णय भएको बताए । उनले यी दुई प्रदेशमा एमालेको एकल बहुमत पुग्नलाई केही सांसद मात्रै कमी हुने अवस्था रहेको र सत्ता गठबन्धनमा फाटो आएमा एमालेको सरकार बन्न सक्ने सम्भावना रहेको बताए ।
 

ताजा खबर