बङ्गुरपालनबाट मनग्य आम्दानी

२०७९ बैशाख ८ बिहीबार १३:३७:०० मा प्रकाशित

देउखुरी । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढेका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जमेका छन् । कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उनी घर फर्किए । घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौधौ पर्यो । अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुुरपालन सुरु गरे ।

उनले २१ वर्षसम्म भारतमा होटलमा काम गरे । कोरोनाबाट सङ्क्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य भए । केही गर्नुपर्छ भन्ने मनसायले उनले घर छेउमा सानो खोर बनाए । “दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गरे”, उनले भने । कारोना कहर नघटेपछि घर्तीमगरलाई भारत जान सम्भव भएन । यही व्यवसायलाई विस्तार गर्ने सोचले उनले १५ कट्ठा जग्गा वार्षिक १० हजार रुपैयाँका दरले भाडामा लिई व्यवसाय बढाए । दुई लाख ५० हजारको लगानीमा १२ पाठापाठी र ६ खोर थपेर व्यवसाय बढाएको घर्तीमगर बताउँछन् ।

“अहिले सात माउ, २१ पाठापाठी र दुई भाले बङ्गुर पालेको छु”, उनले भने । डिउरो र योर्कसायर जातका बङ्गुर उनले पालेका छन् । छोटो समयमा मनग्य आम्दनी गर्न सम्भव भएको घर्तीमगरको भनाइ छ । व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा मनग्य आम्दानी हुन थालेपछि उनी उत्साहित भएका छन् । सस्तो र कम खर्चमा आम्दानी गर्न सकिने भएपछि उनले व्यावसायिकरुपमा बङ्गुुरपालन थालेका हुन् । घाँस र दाना खुवाएर घर्तीमगर बङ्गरपालनमा रमाएका छन् ।

एउटा माउले वर्षमा दुईपटक बच्चा दिन्छ र चार वर्षसम्म निरन्तर दिइरहन्छ । एक पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ । उनले १२ खोरमा फरक फरक उमेरका बङ्गुर पालेका छन् । “अब मासुका लागि छुट्टै खोर बनाउने सोचाइ बनाएको छु”, उनले भने,“फ्रेसहाउस आफँैले सञ्चालन गर्ने योजना छ ।” पैतालीस दिनको पाठापाठी पाँच हजारका दरले बिक्री हुने गरेको घर्तीमगरले बताए ।

घोराही–६ स्थित शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख ५० हजार ऋण लिएर व्यावसाय सुरु गरेको उनले बिगत सुनाए । बङ्गुर बिक्री गरेको आम्दानीबाट अर्को वर्ष ऋण चुक्ता गर्ने सोचाइ उनको छ । मकै, गहुँबाट घरमै उत्पादन गरेको दाना र घोराही बजारका पाँच होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक ३०० देखि एक हजार रुपैयाँ दिने गरेको घर्तीमगर बताउँछन् ।

दाङको हावापानी सुहाउँदो पाख्रीबास, लैडरस, डिउरो, योर्कसायर जातका बङ्गुुरलाई राम्रो मानिन्छ । यी बङ्गुरले छिटोछिटो बथानको सङ्ख्या बढाउने भएकाले छोटो समयमा राम्रो आम्दानी दिने भएकाले यसको व्यवसाय फस्टाएको हो ।

घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख कृष्ण बस्नेतले घोराहीमा ११२ बङ्गुुर फार्म दर्ता भएको बताए । बङ्गुर पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्सान दिने गरिएको छ । बङ्गुरपालक किसानले वर्षमा १२ लाखदेखि १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत ललितपुरको खुमलटारबाट १० भाले बङ्गुर ल्याएर वितरण गरेको उनले बताए ।


 

ताजा खबर