चुनाव चिन्ह अंकित सामग्री उत्पादन गरे एक लाखसम्म जरिवाना गर्ने आयोगको चेतावनी

२०७९ बैशाख ७ बुधबार २०:१३:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले चुनाव चिन्ह अंकित सामग्री उत्पादन नगर्न अनुरोध गरेको छ । बुधबार विज्ञप्ति जारी गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनाव चिन्ह अंकित सामग्री उत्पादन बन्द गर्न अनुरोध गरेका हुन् ।

आयोगको अनुरोधलाई बेवास्ता गरे राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिइएको छ ।

निर्वाचन आचारसंहिता, २०७८ मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अति ज्याकेट, कमिज, भेष्ट टि–सर्ट, टोपी वा क्याम्प, गम्छा, मास्क, लकेट, वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याग जस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न, बिक्री/वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था उल्लेख छ। तर आचारसंहिताको उल्लंघन गर्दै उत्पादन हुने गरेको गुनासो आएको प्रवक्ता पौडेलले बताए।

ताजा खबर